मुख्य समाचार
मन्त्री गीता चौधरीले स्वदेशी फूल तथा बिरुवाको उत्पादन र प्रवर्द्धनका लागि आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्ने बताए
मन्त्री गीता चौधरीले स्वदेशी फूल तथा बिरुवाको उत्पादन र प्रवर्द्धनका लागि आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्ने बताए

। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले स्वदेशी फूल तथा बिरुवाको उत्पादन र प्रवर्द्धनका लागि आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्ने बताएकी छन् । उनले नर्सरी व्यवसायको विकास र विस्तारका लागि सरकार प्रतिबद्ध रहेको बताइन् ।

नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो २०८३’ आज काठमाडौंको भृकुटीमण्डपमा उदघाटन गर्दै मन्त्री चौधरीले स्वदेशी फूलको उत्पादन र उपभोग बढाउनुपर्नेमा जोड दिइन् । स्थानीय उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउन र नेपाली फूलको बजार विस्तार गर्न एक्स्पोले सहयोग गर्ने उनको भनाइ थियो ।

तिहार नेपाली समाजको उज्यालो, रङ र फूलसँग जोडिएको सांस्कृतिक पर्व भएकाले यस अवसरमा स्वदेशी फूल तथा बिरुवाको प्रदर्शनी आयोजना गर्नु सान्दर्भिक रहेको उनले बताइन् ।

नर्सरी व्यवसायलाई व्यापारमा मात्र सीमित नराखी उत्पादन वृद्धि, वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र जलवायु परिवर्तनको असर न्यूनीकरणसँग जोड्नुपर्ने मन्त्री चौधरीको भनाइ थियो । यस क्षेत्रले युवा तथा महिलाका लागि रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सक्ने उनले बताइन् ।


नर्सरी व्यवसायीले भोग्दै आएको जग्गा अभावको समस्या समाधान गर्न सरकारले भूमि बैंकको अवधारणा अघि बढाउन लागेको पनि उनले जानकारी दिइन् ।

‘नर्सरी व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि आवश्यक नीतिगत एवं प्राविधिक सहयोग र सहकार्य गर्न मन्त्रालय सधैँ तत्पर छ,’ उनले भनिन्, ‘रैथाने र नेपालमा उत्पादित वस्तुलाई सरकारले प्राथमिकता दिएको छ । व्यवसायीले उठाएको जग्गाको समस्या समाधान गर्न यसपटक कानुनमार्फत भूमि बैंकको अवधारणा ल्याउँदै छौँ ।’

मन्त्रालयले वन तथा भू–संरक्षण विभाग, बागवानी केन्द्र, बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र र राष्ट्रिय प्लान्ट क्वारेन्टाइन तथा बायो–सेक्युरिटी केन्द्रमार्फत नर्सरी क्षेत्रको व्यवस्थापन, गुणस्तर नियमन, प्राविधिक सहयोग र तालिमका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले सरकारी स्वामित्वमा रहेका खाली जग्गा नर्सरी व्यवसायीलाई भाडामा उपलब्ध गराउन माग गरे । लामो समयदेखि प्रयोगविहीन रहेका सरकारी जग्गालाई उत्पादनमूलक काममा लगाउनुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, सहरी क्षेत्रमा खाली रहेका जग्गामा नर्सरी बजार स्थापना गर्ने वातावरण बनाउन र सातै प्रदेशमा प्रदेशस्तरीय मेला, प्रदर्शनी तथा तालिम सञ्चालन गर्ने नीति ल्याउन उनले सरकारको ध्यानाकर्षण गराए ।

तिहारमा ठूलो परिमाणमा फूल आयात हुने गरेको उल्लेख गर्दै तिमिल्सिनाले सयपत्री फूलमा आत्मनिर्भर बन्न आयात रोक्नुपर्ने बताए ।

‘देशभरि खाली रहेका जग्गाको भौगोलिक अवस्था हेरेर फूल, फलफूल वा जडीबुटीको व्यावसायिक खेती गर्नुपर्छ,’ उनले भने, ‘नर्सरी व्यवसायीले बिरुवा उत्पादन गर्ने, किसानले व्यावसायिक खेती गर्ने र उत्पादित वस्तुको बजार सुनिश्चित गर्ने वातावरण सरकारले बनाउनुपर्छ ।’

‘तिहारको उत्सव, स्वदेशी फूलको महोत्सव’ नारासहित मंगलबारदेखि सुरु भएको एक्स्पो कात्तिक २१ गतेसम्म सञ्चालन हुनेछ । पाँच दिनसम्म चल्ने मेलामा पुष्प, फलफूल, कृषि, वन तथा जडीबुटी नर्सरीका उत्पादन प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् ।

मेला संयोजक तथा संघकी उपाध्यक्ष लक्ष्मी महर्जनका अनुसार एक्स्पोमा व्यावसायिक, सरकारी, संघका आधिकारिक र प्रतिस्पर्धात्मक गरी ७३ वटा स्टल राखिएका छन् । तीमध्ये ६३ वटा व्यवसायीका, वनस्पति विभाग र पुष्प विकास केन्द्रका स्टल, संघका ६ वटा आधिकारिक तथा प्रतिस्पर्धाका ४ वटा स्टल छन् ।

एक्स्पोमा ३५ हजार अवलोकनकर्ता सहभागी हुने र एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले निजी र सार्वजनिक लगानीलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष भट्टले आर्थिक प्रतिफल, सामाजिक प्रतिफल र वातावरणीय जोखिमलाई मुल्यांकन गर्दै निजी र सार्वजनिक लगानीलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने बताएका हुन् । उनले नेपालको सन्दर्भमा भइरहेको विकासको केन्द्रीकरणलाई विकेन्द्रीकृत ...
। नेपाली कांग्रेसले संघीय संसद्को अधिवेशन जतिसक्दो चाँडो बोलाउनुपर्नेमा विपक्षी दलहरू एकमत रहेको सन्देश सभामुख डोलप्रसाद अर्याल पुर्‍याएको छ । मंगलबार प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख अर्याललाई भेट्न सिंहदरबार पुगेका थिए । सभामुखसँगको भेटपछि आङ्देम्बेले संसदलाई लामो समय खाली राख्न नहुने बताएका हुन् । ‘गम्भीर विषयहरू आएको र आएका विषयमा ...
। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (ईयू) का नवनियुक्त राजदूत चार्ल्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले राजदूत ह्वाइटलीलाई नियुक्तिका लागि बधाइ दिँदै उनको सफल तथा सुखद कार्यकालको शुभकामना व्यक्त गरे । भेटका अवसरमा दुवैजनाबीच आपसी हितका विविध विषयमा विचार आदानप्रदान भएको थियो । साथै, नेपाल र युरोपेली ...
। कर्णाली प्रदेश सरकारले योगदानमा आधारित निवृत्तिभरण कोष स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले पाँचवटा महत्वपूर्ण प्रस्तावमा निर्णय गरेको हो । बैठकले योगदानमा आधारित निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) सम्बन्धी विधेयक, २०८३ प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यो प्रस्ताव आर्थिक मामिला ...
। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले भ्रातृ संगठन नेपाल दलित संघमा समानान्तर अध्यक्ष मनोनीत गरेको छ । देउवा समूहले तनहुँकी यमुना विश्वकर्मालाई दलित संघको केन्द्रीय अध्यक्ष मनोनीत गरेको हो । उनलाई देउवा समूहद्वारा गठित ‘१५औं केन्द्रीय महाधिवेशन आयोजक समिति’का संयोजक डा. शशांक कोइरालाले अध्यक्षमा मनोनयन गरिएको पत्र दिएका छन् । पत्रमा विश्वकर्मालाई ६ महिनाभित्र दलित संघको ...