: सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार पक्राउको विषयमा प्रहरीले सरकासँग पूर्ण अनुमति नलिएको बताएका छन्।
मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा पोखरेलले सामान्य तथ्यहरूको जाँचबुझ गर्नका लागि मात्र प्रहरीले पत्रकारहरूलाई बोलाएको दाबी गरे। प्रहरीका कतिपय आन्तरिक सूचना चुहावट भएको र भ्रामक सूचनाहरू कहाँबाट आए भनेर सोधपुछ गर्नका लागि मात्र प्रहरीले बोलाएको हुनसक्ने सरकारको बुझाइ रहेको उनले बताए। 'सरकार र प्रधानमन्त्रीलाई त्यसको केही पनि जानकारी थिएन। त्यो प्रहरीको आन्तरिक कुरा मात्र हो,'प्रवक्ता पोखरेलले भने।
सूचना चुहावट संवेदनशील विषय भएकाले प्रहरीले आफ्नो आन्तरिक अनुसन्धान गरेको र आवश्यक परे गृह मन्त्रालयले थप कारबाही गर्ने उनले बताए। प्रधानमन्त्री बालेन शाहले जानकारी पाउनेबित्तिकै कुनै पनि पत्रकारलाई पक्राउ नगर्न र हिरासतमा नराख्न निर्देशन दिएको समेत पोखरेलले स्पष्ट पारे।