: चाडपर्वको सुरक्षा चुनौतीसँगै अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने विषयमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मातहतका कार्यालयको कार्यसम्पादन समीक्षा गरेको छ।
प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले तिहार र छठलाई लक्षित गर्दै सीमावर्ती क्षेत्रमा निगरानी बढाउन तथा अवैध कारोबार नियन्त्रणमा सक्रिय हुन प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका छन्। पटाका तथा विस्फोटकजन्य पदार्थको अवैध कारोबार, भन्सार छली, लागुऔषध ओसारपसार र जुवातास नियन्त्रणलाई प्राथमिकतामा राख्न उनले निर्देशन दिएका हुन्।
भर्चुअल माध्यमबाट मंगलबार आयोजित बैठकमा उनले चाडपर्वका बेला शान्तिसुरक्षा कायम राख्न प्रहरी परिचालनलाई चुस्त बनाउनुपर्ने बताए। कार्यसम्पादन सम्झौतामा समेटिएका जिम्मेवारी पूरा गर्ने क्रममा औपचारिकता मात्र नभई देखिने परिणाम दिनुपर्ने उनको भनाइ थियो। बैठकमा गत साउनदेखि असोजसम्म प्रदेशभरका प्रहरी कार्यालयले गरेका कामको लेखाजोखा गरिएको थियो। अपराध अनुसन्धानमा प्रमाणमुखी पद्धतिको प्रयोग, फरार प्रतिवादी पक्राउ, लागुऔषध नियन्त्रण तथा प्रहरी संगठनको आन्तरिक व्यवस्थापनका विषयमा कार्यालयगत प्रगति मूल्यांकन गरिएको थियो।
प्रहरीको समीक्षामा सडक सुरक्षाले पनि प्राथमिकता पाएको थियो। सवारी दुर्घटना न्यूनीकरणका लागि गरिएका प्रयास, मादक पदार्थ तथा लागुपदार्थ सेवन गरेर सवारी चलाउनेमाथिको कारबाही र ध्वनि प्रदूषण नियन्त्रणका गतिविधिका बारेमा छलफल भएको थियो। त्यसैगरी चोरी, लुटपाट, साइबर अपराध, आर्थिक अपराध र जुवाजन्य गतिविधि नियन्त्रणमा प्रहरीको सक्रियता कस्तो रहयो भन्ने विषय पनि उठाइएको थियो । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालन भएका सचेतनामूलक अभियानको उपलब्धिसमेत समीक्षा गरिएको थियो।
बैठकमा डीएसपी रामप्रसाद तिमल्सिनाले तीनमहिने कार्यप्रगति प्रस्तुत गरेका थिए। उनले विभिन्न प्रहरी कार्यालयले कार्यसम्पादन सम्झौताअनुसार सम्पादन गरेका गतिविधि र प्रगतिका बारेमा जानकारी गराएका थिए। समीक्षामा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक एसएसपी शिवकुमार श्रेष्ठ, प्रदेश प्रहरी कार्यालयका एसएसपी योगेन्द्रसिंह थापा, एसपीहरू सुमनकुमार तिम्सिना र नारायणप्रसाद चिमरिया तथा प्रदेश प्रहरी गण विराटनगरका प्रमुख एसपी मानबहादुर राईसहितका प्रहरी अधिकृत र कर्मचारी सहभागी थिए।