: युरोपका सात देशका दर्जनौँ सुपरमार्केटमा साइबर आक्रमण हुँदा फ्रिज तथा फ्रिजर प्रणाली प्रभावित भएका छन् । आक्रमणका कारण खाद्य सामग्री बिग्रिएपछि ठूलो परिमाणमा खाद्यान्न फाल्नुपर्ने अवस्था सिर्जना भएको छ ।
बेल्जियम, लक्जेम्बर्ग, स्विडेन, आयरल्यान्ड, नेदरल्यान्ड्स, इस्टोनिया र फिनल्यान्डका सुपरमार्केटहरू साइबर आक्रमणबाट प्रभावित भएको बिबिसिमा उल्लेख छ । ।
बेल्जियम र लक्जेम्बर्गका डेलहाइजका करिब ४० वटा सुपरमार्केटमा समस्या देखिएको छ । त्यस्तै, स्विडेनका आईसीए र कूप, आयरल्यान्डका सुपरभालु तथा अन्य देशका विभिन्न स्टोरहरूमा समेत फ्रिजिङ प्रणाली प्रभावित भएको छ ।
बेल्जियमको फ्रिज निर्माता कम्पनी साब्कोबेलका प्रमुख कार्यकारी अधिकृत स्टेफन मोएलान्सका अनुसार साइबर आक्रमणकारीले फ्रिजका इभापोरेटरलाई डिफ्रोस्ट मोडमा परिवर्तन गरिदिएका थिए । त्यसका कारण फ्रिज तथा फ्रिजरको तापक्रम बढेर खाद्य सामग्री बिग्रिएको हो ।
स्विडेनका केही सुपरमार्केटका फ्रिजरको तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको बताइएको छ । यसअघि अक्टोबरमा फ्रान्सका सयौँ सुपरमार्केट पनि यस्तै आक्रमणबाट प्रभावित भएका थिए । त्यसबेला लाखौँ युरो मूल्य बराबरका खाद्य सामग्री नष्ट गर्नुपरेको थियो ।
साइबर आक्रमण कसले गराएको हो भन्ने खुलेको छैन । बेल्जियम र स्विडेनका राष्ट्रिय साइबर सुरक्षा निकायले घटनाको निगरानी गरिरहेका छन् भने बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पनि अन्तर्राष्ट्रिय निकायसँग मिलेर अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रायः सुपरमार्केटका फ्रिज तथा रेफ्रिजरेसन प्रणाली इन्टरनेटसँग जोडिएका हुने भएकाले टाढैबाट नियन्त्रण तथा मर्मत गर्न सकिन्छ । यही प्रविधिको कमजोरी प्रयोग गरेर आक्रमण गरिएको हुन सक्ने अधिकारीहरूको भनाइ छ ।