: परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले चीनसँगका वैकल्पिक नाकाहरूबाट व्यापारिक गतिविधि सञ्चालन गर्न छलफल भइरहेको जानकारी दिएका छन्।
सिंहदरबारमा सोमबार बसेको भोटेकोशी तथा कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा सचिव राईले हाललाई तातोपानी नाकालाई प्राथमिकता दिइए पनि कोरला नाका र दोलखाको लामाबगर नाकाबाट पनि व्यापारिक गतिविधि तथा सडक सञ्जाललाई प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको जानकारी दिएका हुन्।
उनले ‘ग्लोबल वार्मिङ’ र हिमाल पग्लिने क्रमका कारण तातोपानी लगायतका नाकाहरू उच्च जोखिममा रहेकाले भविष्यमा वैकल्पिक वा नदी बेसिनमा आधारित नयाँ नाकाहरू विकास गर्नुपर्ने उल्लेख गरे। सचिव राईले चीनसँगको सहकार्यमा भविष्यमा आउन सक्ने जोखिमहरूलाई न्यूनीकरण गर्न भरपर्दो पूर्वसूचना प्रणाली र संयुक्त संयन्त्र स्थापना गर्नका लागि सरकार क्रियाशील रहेको बताए।
उनले भोटेकोशीमा बाढी आएलगत्तै दुर्गम क्षेत्रमा हेलिकप्टर अवतरण गराउन र मानिसहरूलाई सुरक्षित स्थानमा लैजान कठिनाइ भए पनि सुरक्षा निकायले अवस्थाको आकलन गरी उद्धार कार्य तत्काल अघि बढाएको बताए। विपद् व्यवस्थापन र राहतका लागि प्राप्त २० मिलियन फण्डबाहेक परियोजनामा आधारित सहयोग र राहत वितरणका लागि कृषि, वन तथा वातावरण मन्त्रालयले समन्वय गरिरहेको उनले उल्लेख गरे।
बैठकमा समितिका सदस्यहरूले जलवायु परिवर्तनका कारण नेपालमा भएको क्षति र यसका असरबारे अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रभावकारी कूटनीतिक पहल अघि बढाउनुपर्ने धारणा राखेका छन्।