: नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अलोकतान्त्रिक भएको आरोप लगाएका छन्। महोत्तरीको बर्दिबासमा पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले पत्रकारमाथि प्रहरी लगाएर धरपकड गर्नु गलत भएको टिप्पणी गरेका हुन्।
प्रचण्डले आम जनताले पनि सरकारको कार्यशैली बुझ्न थालेको र बौद्धिक समुदायले सरकारप्रतिको धारणा स्पष्ट पारिसकेको बताए।
उनले भने, ‘आम जनताले महसुस गर्न थालिसके। बौद्धिक समुदाय त स्पष्ट भइसकेकै छ। नेपालका सबै बुद्धिजीवीहरूले कुरा बुझिसके। हावामा भोट हालिएछ, हुरी बतास मात्रै रहेछ यो भनेर। तर, गाउँगाउँका जनतालाई बुझाउन अझै बाँकी छ। त्यो काम चाहिँ हामी गर्छौं।’
उनका अनुसार अब गाउँगाउँमा पुगेर सर्वसाधारणलाई सरकारको कार्यशैलीबारे बुझाउने काम पार्टीले गर्नेछ।
मधेस प्रदेश सरकारको राजनीतिक समीकरणबारे बोल्दै प्रचण्डले नेकपा एमालेले समर्थन फिर्ता लिनुअघि आफूहरूसँग छलफल भएको जानकारी दिए। नयाँ राजनीतिक समझदारीका आधारमा मधेसमा सरकार गठन गर्ने विषयमा छलफल भइरहेको र केही दिनभित्र नयाँ सरकार बन्ने उनको दाबी छ।
एमाले पुनः मधेस सरकारमा सहभागी हुने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले त्यसलाई असम्भव नभनेपनि तत्काल उक्त विषयमा प्रवेश नगरिएको स्पष्ट पारे।
पार्टीभित्र एकता, उद्देश्यमा एकरूपता र आपसी सद्भाव कायम गर्ने उद्देश्यले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिएको पनि उनले बताए। आफूले आन्दोलनको आँधीबेहरी ल्याउने बताएको विषयमा पत्रकारले जिज्ञासा राख्दा प्रचण्डले समय आएपछि परिस्थिति हेरेर त्यसबारे स्पष्ट हुने प्रतिक्रिया दिए। अहिले नै आन्दोलनबारे थप खुलाउँदा सञ्चारमाध्यमले त्यसलाई अतिरञ्जित रूपमा प्रस्तुत गर्न सक्ने उनको भनाइ थियो।