: मुख्य पर्यटनको सिजनका बेला मनास्लु क्षेत्र ४ दिनदेखि सञ्चार सम्पर्कविहीन भएको छ। मनास्लु क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–१, २, ४ र ५ का दर्जनौं गाउँबस्तीमा गत बिहीबारदेखि मोबाइल तथा फोरजी सेवा ठप्प रहेको त्यहाँका बासिन्दाले बताएका छन्।
मोबाइल तथा इन्टरनेट चलाउन नपाउँदा स्थानीयवासी तथा भ्रमणका क्रममा त्यहाँ पुगेका विदेशी पर्यटकलाई समस्या भएको छ। ‘जटिल भौगोलिक अवस्था रहेको हिमाली भेगमा स्थानीयवासी पनि बिरामी वा घाइते हुनसक्छन्, विदेशीहरू पनि बिरामी भएर तत्काल हवाई उद्धार गर्नुपर्ने हुनसक्छ’, वडा नं. १ का वडाअध्यक्ष कर्मा छेवाङ लामाले भने, ‘चारदिन भयो, मोबाइल पनि चलेको छैन, फोरजी पनि चलेको छैन। मोटरबाटो पनि नपुगेको ठाउँमा सञ्चार सम्पर्क पनि नचल्दा जनजीवन धेरै कष्टकर भएको छ।’
बुढीगण्डकी बाढीले लामो समयसम्म पदमार्ग बन्द भएको सो क्षेत्रमा जाने बाटो केही दिनअघिमात्र सुचारु भएको थियो। अहिले मोबाइल तथा फोरजी इन्टरनेट सेवा नचलेको स्थानीय दावा नुर्बु लामाले जानकारी दिए। ‘बाढी पहिरो, हिमपहिरो, हिमताल विस्फोटको जोखिमले समस्यामा रहेको हाम्रो गाउँ ठाउँका बारेमा देश, विदेशमा रहेका आफन्तले चासो लिइरहनुहुन्छ। सञ्चार सम्पर्क नहुँदा उहाँहरूलाई पनि समस्या भएको छ।’
चारवटा वडा सञ्चार सम्पर्कविहीन हुँदा त्यहाँ कार्यरत सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरूलाई पनि कार्यसम्पादनमा समस्या भएको छ। वडा नं. ५ धोर्जुङ डाँडास्थित टावरमा समस्या आएका कारण त्यसभन्दा माथिका सबै टावरले काम नगरेको नेपाल टेलिकम गोरखा कार्यालयका प्रमुख सूर्यप्रसाद पाण्डेले जानकारी दिए। ‘त्यो टावर रेखदेख गर्ने स्थानीय एक जनालाई हेर्न पठाएका छौं। भोलि त्यहाँ पुगेर के रिपोर्ट गर्नुहुन्छ, त्यहीअनुसार मर्मत गर्ने टोली पठाउनुपर्ला’, उनले भने, ‘धोर्जुङडाँडा धेरै टाढा रहेकाले हेलिकप्टरबाट जानुपर्छ। सबै व्यवस्थापन मिलाउन केही
समय लाग्ला।’