: नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारका गतिविधिहरूले संविधानलाई कमजोर पार्ने काम गरेको बताएका छन्।
प्रेस चौतारी नेपाल, रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले वर्तमान सरकारका गतिविधिहरूले लोकतन्त्र, संविधान र राज्यका संवैधानिक अङ्गहरूलाई कमजोर पारिरहेको बताएका हुन्। उनले उच्च जिम्मेवार पदमा रहेका व्यक्तिहरू अत्यधिक संयमित र उत्तरदायी हुनुपर्नेमा, हाल कार्यकारी भूमिकामा रहेका व्यक्तिहरूको सामाजिक सञ्जालको गतिविधिले राज्यको जिम्मेवारीलाई केटाकेटीले खेल्ने भाँडाकुटी जस्तै बनाएको तर्क गरे।
चुनाव प्रचारका क्रममा प्रधानमन्त्रीको साथमा रहेका र जिताउने अभियानमा खटिएका एक चर्चित पात्रको विषयलाई लिएर प्रधानमन्त्री स्वयंले नै समाजका अङ्गहरूलाई प्रभावित वा नियन्त्रण गर्न परिचालन गर्न खोजेको हो कि भन्ने आशङ्का उब्जिएको उनले बताए। साथै, महासचिव पोखरेलले सरकारका गतिविधिहरूप्रति स्वयं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत सन्तुष्ट नरहेको दाबी गरे।
जनताले ठूलो अपेक्षाका साथ दिएको जनादेश विपरीत देशको स्थिति नकारात्मक दिशामा गइरहेकाले यसलाई सच्याउनु र सुधार गर्नु सबैको साझा कर्तव्य भएको धारणा उनले व्यक्त गरे।