: नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको दशौं खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै काठमाडौं गोर्खाजले पहिलो जित दर्ता गरेको छ। काठमाडौंसँग हार्दा कर्णालीको भने यो पहिलो हार हो। लगातार २ जित पछि कर्णाली आज पराजित भएको हो।
कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो।
कर्णालीले दिएको १८१ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौं गोर्खाजले १९.४ ओभरमा ६ विकेटको क्षतीमा लक्ष्य पूरा गर्यो।
काठमाडौंको लागि पाँचौं विकेटको लागि करण केसी र रासिद खानको ५५ रनको साझेदारीले काठमाडौंलाई खेलमा फर्कायो। रासिद खानको उत्कृष्ट अर्धशतक र करण केसीको आक्रमक ब्याटिङले काठमाडौंलाई जितको नजिक पुर्याएको थियो।
काठमाडौंको लागि रासिद खानले सर्वाधिक ५० रनको पारी खेले। उनले ३३ बलमा ३ चौका र २ छक्का प्रहार गरे । ओपनर डेविड वार्नरले १६ रन बनाउँदा अर्का ओनपर स्मिथ पटेलले ९ रन बनाए। मोहम्मद आदिल आलमले २० रन बनाउँदा कप्तान करण केसीले ४४ रनको आक्रमक पारी खेले । २० बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
जहानदाद खानले १९ रनमा क्याच मिसको रुपमा जीवनदान पाए। उनको क्याच हुसैन तलातले बाउन्ड्रीमा छोडे। जहानदाद २२ रनमा र सन्तोष यादव ५ रनमा अविजित रहे । कर्णालीको लागि सोमपाल कामी र हुसैन तलातले २-२ विकेट लिए। मार्क वाट र नन्दन यादवले १-१ विकेट लिए।
त्यसअघि ब्याटिङ गरेको कर्णाली याक्सले पावरप्लेको निकै राम्रो सदुपयोग गर्यो। पावरप्लेमा कर्णालीले १ विकेटको क्षतीमा ६५ रन बनाएको थियो। मध्यक्रममा भने कर्णाली सुस्तायो।
कर्णालीका लागि ओपनर ब्याटर आरिफूल इस्लामले सर्वाधिक ४४ रन बनाए। उनले २२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। पहिलो विकेटको लागि आरिफूलले जिसन आलमसँग २० रनको मात्रै साझेदारी बनाउन सके। मार्क वाटले १७ रन बनाउँदा दिपक प्रसाद डुम्रेले ८ रन बनाउँदै क्याच भए। पाँचौं विकेटको रुपमा हुसैन तलात ४० रन बनाउँदै हिट द विकेटको शिकार भए। उनले पाँचौं विकेटको लागि पवन सर्राफसँग ६५ रनको साझेदारी बनाएका थिए।
१९ औं ओभरको पहिलो बलमा पुनः काठमाडौंले क्याच मिस गर्यो। गुल्सन झाले ११ रनमा जीवनदान पाए। विकेटकिपर र फिल्डरमा साझेदारी नबन्दा क्याच छुटेको हो। उनी १२ बलमा २ छक्कासहित २० रन बनाउँदै क्याच भए।
पवन सर्राफले १८ औं ओभरको अन्तिम बलमा रिपोन मन्डोलको बलमा साहब आलमले क्याच छोड्दा २२ रनमा जीवनदान पाए। पवन २४ बलमा २ छक्कासहित ३० रनमा अविजित हुँदा सोमपाल कामी १ रनमा अविजित रहेका थिए।
काठमाडौं गोर्खाजको लागि करण केसीले २ विकेट लिए। साहब आलम, देव शाह, जहानदाद खान र सन्तोष यादवले १-१ विकेट लिएका हुन्। कर्णाली याक्सले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो। दोस्रो खेलमा कर्णालीले विराटनगर किंग्सलाई ४ विकेटले हराएको थियो।
काठमाडौंले भने पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो। आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजको खेल हुनेछ।