: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीप्रभावितहरूका लागि स्थायी आवास निर्माण गर्न भौगोलिक अध्ययन भइरहेको जनाएको छ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा प्राधिकरणका भूगर्भविद् डा. प्रकाश पोख्रेलले भोटेकोशी बाढीले पूर्ण रूपमा क्षति पुर्याएका स्याफ्रुबेँसी, बेत्रावतीदेखि त्रिशूलीसम्मका प्रभावितहरूलाई सोही क्षेत्र आसपासमा स्थायी आवास निर्माणका लागि भौगोलिक अध्ययन भइरहेको जानकारी दिए।
उनले बाढीको घटनापछि १६ वटा परिचालन टोली गठन गरी सम्पर्क व्यक्तिहरू तोकेर खोज, उद्धार, राहत तथा पुनर्नस्थापनाका कार्यहरू भइरहेको बताए। दुई वटा प्रयोगशालामार्फत डिएनए सङ्कलन तथा प्रोफाइल तयार गर्ने काम भइरहेको भन्दै उनले १,६०० शवको डिएनएमध्ये हालसम्म १५० वटा शवको पहिचान भइसकेको जानकारी दिए। एक महिनाभित्र डिएनएको सबै काम सम्पन्न हुने जानकारी प्राप्त भएको उनको भनाइ छ।
उनले सडक, पुल र झोलुङ्गे पुलहरूको अस्थायी तथा वैकल्पिक मार्ग निर्माण र प्राविधिक परीक्षणको काम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्वमा भइरहेको उल्लेख गरे।