: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा वर्षौंदेखि फसेका नागरिकको उद्धार गरिएको छ । मानवीय युद्धविरामपछि उद्धार गरिएका नागरिक युक्रेनको चेर्निहिभ क्षेत्रमा प्रवेश गरेसँगै लामो समयदेखि बिछोडिएका परिवारका सदस्यबीच भावुक पुनर्मिलन भएको बिबिसिले जनाएको छ ।
उद्धारका क्रममा तीन वर्षदेखि भेट नभएका परिवारका सदस्य एकअर्कालाई देखेपछि खुसीले रोएका थिए । दुई दिदीबहिनी आफ्ना बुबालाई देख्नेबित्तिकै दौडिएर अँगालो हाल्न पुगेका थिए । उनीहरूका लागि वर्षौंदेखिको प्रतीक्षा र परिवारसँग पुनर्मिलनको क्षण निकै भावुक बनेको थियो ।
कतिपय वृद्धवृद्धालाई स्ट्रेचरमा बोकेर उद्धार गरिएको थियो। उनीहरू लामो समयदेखि खाद्यान्न, खानेपानी र विद्युत् सुविधाविनै सहरमा बस्न बाध्य थिए। भोकमरीको अवस्था यति गम्भीर बनेको थियो कि कतिपयले बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खानुपरेको थियो ।
उद्धार गरिएका नागरिकमध्ये सबैभन्दा ज्येष्ठ ९४ वर्षका र सबैभन्दा कम उमेरका एक वर्षका बालक रहेको युक्रेनका मानव अधिकार लोकपाल दिमित्रो लुबिनेट्सले बताएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उद्धारका लागि स्थानीय युद्धविरामको वातावरण बनाउन सहयोग गरेको भन्दै अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई धन्यवाद दिएका छन् । उनले उद्धार गरिएका सबै नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराइने पनि बताएका छन् ।
युद्धका कारण घर गुमाएका कतिपय नागरिक छिमेकीका खाली घरमा बस्दै आएका थिए । उद्धारका क्रममा केहीले आफ्ना घरपालुवा बिरालोसमेत साथमा ल्याएका थिए ।
ओलेश्कीबाट नागरिकलाई सुरक्षित स्थानमा पुर्याउन शुक्रबार २५ वटा बस परिचालन गरिएको थियो । ती बसमा करिब ७५० जनालाई लैजान सकिने व्यवस्था थियो। उद्धारका लागि एम्बुलेन्ससमेत परिचालन गरिएको थियो ।
नागरिकलाई पहिले रुसको कब्जामा रहेको क्षेत्र हुँदै दक्षिणी रुस पुर्याइएको थियो । त्यहाँबाट विमानमार्फत बेलारुस लगेर अन्ततः बसबाट युक्रेनको उत्तरी सीमामा प्रवेश गराइएको थियो ।
सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गर्नुअघि ओलेश्कीमा करिब २४ हजार मानिस बसोबास गर्थे । युद्धका कारण सहरमा ग्यास, विद्युत् र खानेपानीको अभाव हुनुका साथै आवतजावतका मार्गमा बारुदी सुरुङ र ड्रोन आक्रमणको जोखिम बढेको थियो ।
खर्सोन क्षेत्रमा मंगलबारदेखि लागू भएको मानवीय युद्धविरामले नागरिक उद्धार र राहत सामग्री पुर्याउने बाटो सहज बनाएको थियो । उक्त युद्धविराम नोभेम्बर १ आइतबारसम्म कायम रहने जनाइएको छ ।
यद्यपि, ओलेश्कीबाट उद्धारको अवसर पाए पनि केही सय नागरिकले भने सहर छाड्न अस्वीकार गरेका छन् । उनीहरूलाई आवश्यक मानवीय सहायता उपलब्ध गराइने अधिकारीहरूले बताएका छन् ।
ओलेश्कीमा युद्धविराम कायम रहे पनि युक्रेनका अन्य क्षेत्रमा भने युद्ध जारी छ । यसैबीच, युक्रेन, रुस र अमेरिकाका वार्ताकारहरू नोभेम्बरको सुरुवातमा अबुधाबीमा युद्धविरामसम्बन्धी छलफल पुनः सुरु गर्ने तयारीमा छन् ।