: रुस-युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिसक्दा पनि जारी छ। यस्तो अवस्थामा रुसबाट लगातारका प्रहार भइरहने ड्रोन आक्रमणहरूले युक्रेनी सैनिकहरूका लागि खुला जमिनमा ओहोरदोहोर गर्न निकै कठिन बनाएको छ।
उनीहरू पुराना ग्यास पाइपलाइनहरूभित्र लुकेर बसिरहेका छन्। करिब ४ फिट फराकिला यी सुरुङहरूमा सैनिकहरूले कैयौँ हप्तादेखि दुई महिनासम्म बिताउनुपर्ने बाध्यता छ। कुनै समय रुसबाट युरोपसम्म ग्यास पुर्याउने यी पाइपलाइनहरू अहिले युक्रेनी सैनिकहरूका लागि खाना, हतियार र अन्य आवश्यक सामग्री पुर्याउने मुख्य माध्यम बनेका छन्।
युक्रेनको कुप्यान्स्क क्षेत्रमा पुराना ग्यास पाइपलाइनहरूको करिब १२९ किलोमिटर लामो सञ्जाल रहेको छ। रुसले गत वर्ष युक्रेनी क्षेत्रमा घुसपैठ गर्नका लागि यिनै पाइपलाइनहरूको प्रयोग गरेको थियो। त्यसपछि युक्रेनको नेसनल गार्डको जासुसी इकाईले यी पाइपलाइनहरूको नक्सा सङ्कलन गर्यो। साथै, यिनलाई निर्माण गर्ने पुराना ग्यास विज्ञहरूको सहयोगमा भूमिगत मार्गहरू प्रयोग गर्ने योजना तयार पार्यो।
अहिले यी पाइपलाइनहरूमार्फत सैनिकहरूसम्म खाना र गोलाबारुद पुर्याउने गरिन्छ। यसका लागि साना विद्युतीय गाडीहरूको प्रयोग भइरहेको छ। दिउँसोको समयमा यी गाडीहरूबाट आवश्यक सामग्री भित्र पठाइन्छ भने रातिको समयमा खनिएको माटोका बोराहरू बाहिर ल्याइन्छ।
यी पाइपलाइनभित्र सैनिकहरूले अत्यन्तै कठिन परिस्थितिको सामना गर्नुपरिरहेको छ। बाटाहरू यति साँगुरो छन् कि उनीहरूले नुगेर वा घुँडा धसेर घिस्रिँदै अघि बढ्नुपर्छ। त्यहाँ न त सूर्यको किरण पुग्छ, न त ताजा हावा नै पाइन्छ। शौचालयका लागि सैनिकहरूले प्लास्टिकका झोला र बोतलहरूको प्रयोग गर्छन्। पाइपलाइनमा बाँकी रहेका ग्यासका अंश, धुलो र अक्सिजनको कमीले पनि उनीहरूको जीवनमा थप जोखिम निम्त्याइरहेको छ।
घाइते सैनिकहरूलाई पनि यिनै मार्गहरूबाट बाहिर निकालिन्छ। अग्रपङ्क्ति (मोर्चा) मा मारिएका सैनिकहरूका शवसमेत यही पाइपलाइन भएर बाहिर ल्याउने गरिएको छ।ड्रोन र थर्मल इमेजिङ प्रविधिले खुला मैदानमा सैनिकहरूको आवतजावतलाई अत्यन्तै खतरनाक बनाइदिएको छ।
थर्मल इमेजिङको मद्दतले ड्रोनले जमिनमा रहेका मानिसहरूको शरीरको तापक्रम सजिलै पहिचान गर्न सक्छन्। यस्तो अवस्थामा सैनिकहरूका लागि लुकेर अघि बढ्न पनि सहज छैन।यसै कारण युक्रेनले आफ्नो सेनाका सैन्य अखडा, निगरानी चौकी र सामग्री भण्डारण केन्द्रहरूलाई आपसमा जोड्नका लागि भूमिगत सुरुङको सञ्जाल निर्माण गर्ने सम्भावनाहरू खोजिरहेको छ।