— बाराको फेटा गाउँपालिकामा शनिबार अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपमा प्रहरीले चलाएको गोली लागेर स्थानीय युवा घाइते भएपछि स्थानीय प्रशासनले घटनाबारे छानबिन सुरु गरेको छ। उक्त घटनामा प्रहरीले आदेशबिना गोली चलाएको खुलेको छ ।
घटनामा कुन प्रहरीले कसको आदेशमा गोली चलायो भन्ने विषय गम्भीर भएकाले अनुसन्धान थालेको बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले बताए। ‘एउटाले हवाई फायर भनेर गोली चलाएको छ,’ उनले भने, ‘हामीले घटनाको छानबिन सुरु गरेका छौं। गोली चलाउनुअघि सीडीओ र एसपीलाई जानकारी गराइएको थिएन।’
अस्पताल भवन उद्घाटन कार्यक्रममा करिब पाँच सय मानिस भेला भएका थिए। नयाँ भवन अनुगमन नगरी उद्घाटन गर्न लागेको र राम्रोसँग निर्माण नगरेको भन्दै केहीले टेन्ट भत्काएका थिए। प्रहरीले सम्झाइबुझाइ गर्दा उल्टै ढुंगामुढा भएपछि स्थिति नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको बारा प्रहरीले मधेश प्रदेश प्रहरी कार्यालयलाई जानकारी गराएको छ। तर, हवाई फायर भनिए पनि झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय आदित्य पासवान घाइते भएका छन्। उनको शरीरको पछाडिको भाग (हिप) मा गोली लागेको छ। उनको अवस्था गम्भीर छ।
झडपका क्रममा अस्पतालमा तोडफोड हुनुका साथै कर्मचारीलगायत दर्जनौं मोटरसाइकलमा आगजनीसमेत भएको छ। ढुंगामुढा लागेर तीन जना प्रहरी पनि घाइते भएका छन्।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।