: सर्वोच्च अदालतका न्यायाधीशहरू नै विवादमा मुछिएपछि शुक्रबार फूलकोर्ट (पूर्ण बैठक) बसेको छ। बैठकमा प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग जोडिएको विषयमा छलफल भएको एक न्यायाधीशले बताए। सापकोटासँग गरेको भेटघाटबारे छानबिन पनि हुनुपर्ने माग उठेको ती न्यायाधीशको भनाइ छ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीश हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको नाम जोडेर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि न्यायपालिकाको गरिमा र न्यायाधीशहरूको आचरणमाथि प्रश्न उठेको छ। विवाद सार्वजनिक भएपछि प्रधानन्यायाधीश शर्मा र न्यायाधीशद्वय फुयाँल तथा पौडेलले बिहीबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै समाचारको खण्डन गरेका थिए।
विवादको केन्द्रमा सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका हिमालयन रिइन्स्योरेन्सका सञ्चालक रोहित गुप्तालाई धरौटीमा छाड्ने सर्वोच्च अदालतको आदेश र उक्त मुद्दासँग जोडिएका सम्पर्क विवरण छन्।
गत भदौ १७ गते न्यायाधीशद्वय फुयाँल र पौडेलको संयुक्त इजलासले गुप्तालाई दुई करोड रुपैयाँ धरौटी वा बैंक जमानतमा रिहा गरी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। त्यसपछि गुप्ताको मुद्दालाई लिएर न्यायाधीश फुयाँल र इनम सापकोटाबीच सन्देश आदानप्रदान भएको विवरण सार्वजनिक भएको छ।
प्रधानन्यायाधीश शर्मा र न्यायाधीश पौडेलले सापकोटासँग आफ्नो सम्बन्ध तथा सम्पर्क नरहेको दाबी गरेका छन्। न्यायाधीश फुयाँलले पनि आफूबाट न्यायिक विचलन हुने वा नेपालको न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने कुनै काम नभएको बताएका छन्। उनले सापकोटासँगको सम्पर्कमा कुनै आर्थिक कारोबार नभएको दाबी गर्दै प्रकरणको गम्भीर अनुसन्धान हुनुपर्ने बताएका छन्।
यसैबीच नेपाल बार एसोसिएसनले न्यायपालिकाको उच्च नेतृत्व र न्यायाधीशहरूको आचरणसँग जोडिएका विषयलाई सञ्चारमाध्यममा आएका समाचारका रूपमा मात्रै सीमित नराखी निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गर्न माग गरेको छ। सार्वजनिक भएका आरोपको सत्यतथ्य अनुसन्धानबाट स्पष्ट पार्नुपर्ने र दोषी ठहरिने व्यक्तिलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बारको माग छ।