: कोशी प्रदेशका सुनसरी, झापा, मोरङ र धनकुटाबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ। प्रहरीले प्रतिबन्धित ब्राउन सुगर, ट्रामाडोल, डिक्लोमाइन, गाँजालगायत लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हाे।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका सहायक प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाका बुधबार राति सुनसरीका विभिन्न स्थानबाट लागूऔषधसहित सात जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय लौकहीले सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट इलामको चुलाचुली गाउँपालिका–५ का यामकुमार राईलाई दुई ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। त्यस्तै, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान टोली (पीआईटी) र अस्थायी प्रहरी चौकी देउरालीको टोलीले धरान उपमहानगरपालिका–५ बाट सोही स्थानका अमिर सार्कीलाई ४०० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको तिम्सिनाले बताए।
धरानको अस्थायी प्रहरी चौकी बरगाछी र तिनकुनेको टोलीले धरान–८ की सलिना राईलाई ८५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। प्रहरी चौकी खनारले इटहरी उपमहानगरपालिका–११ बाट मोरङको सुन्दरहरैँचा नगरपालिका–२ का अरुण माझीलाई ट्रामाडोल ८१० क्याप्सुल, डिक्लोमाइन ८०० क्याप्सुल र प्रदेश १–०२–०४१ प २५४६ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको एसपी तिम्सिनाले बताए। इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–८ बाट ट्रामाडोल पाँच हजार २७० क्याप्सुल र डिक्लोमाइन पाँच हजार ५१० ट्याब्लेटसहित सोही स्थानका अभिशेक चौधरी, युगल सुन्दास र एक बालकलाई पक्राउ गरेको उनले जानकारी दिएका छन्।
यसैगरी, झापाको बिर्तामोड नगरपालिका–५ स्थित अस्थायी प्रहरी पोस्ट बसपार्कले इटहरी–२ का अनिष खड्कालाई ५१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ खोर्सानेबाट सुनसरीको दुहबीका संजय उरावलाई दुई ग्राम ७३० मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय विराटचोकले पक्राउ गरेको छ।
त्यस्तै, अस्थायी प्रहरी पोस्ट सोमबारेले बेलबारी नगरपालिका–६ बाट प्रदेश १–०२–०४० प ९१९१ नम्बरको मोटरसाइकलमा सवार धनकुटाको चौबिसे गाउँपालिका–७ का आइतबहादुर राई र एक बालकलाई ३० किलो ९९० ग्राम गाँजासहित नियन्त्रणमा लिएको छ। धनकुटाको चौबिसे गाउँपालिका–६ बाट पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ का रोमन भनिने रमेश पोखरेललाई ट्रामाडोल ६४ क्याप्सुल, डिकोलोक ३७ चक्की र स्पास्पेन ३१ वटासहित प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका सबैलाई सम्बन्धित प्रहरी कार्यालयमा राखेर लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको एसपी तिम्सिनाले जानकारी दिएका छन्।