: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् ।
राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ।
सन् २०२१ मा म्यानमारको निर्वाचित सरकार अपदस्थ हुनुअघि नै राष्ट्रसङ्घका लागि राजदूत नियुक्त भएका टुनले सम्बोधनका क्रममा देशका ‘वीर सहिद’ र निर्दोष नागरिकका नाम तथा उमेर उल्लेख गरिएको स्कार्फसमेत प्रदर्शन गरेका थिए ।
उनको भावुक अपिलले म्यानमारको सङ्कट र त्यहाँका नागरिकले भोगिरहेको पीडाप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने प्रयास गरेको छ ।