मुख्य समाचार
हवाई सेवा नियमित बनाउनेबारे संघीय सरकारका निकायसँग छलफल गर्दै कर्णालीका मुख्यमन्त्री
हवाई सेवा नियमित बनाउनेबारे संघीय सरकारका निकायसँग छलफल गर्दै कर्णालीका मुख्यमन्त्री

। कर्णाली प्रदेश सरकारले हिमाली जिल्लामा हवाई सेवा सञ्चालनका लागि ६० लाख रुपैयाँ विनियोजन गरे पनि नियमित उडानको प्रक्रिया टुंगिएको छैन । सेवा सञ्चालनका लागि कार्यविधि बनाई कार्यान्वनय गर्ने तयारी भइरहँदा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) तथा संघीय सरकारसँग छलफल तीव्र बनाएको छ ।

कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले यही विषयमा बुधबार संघीय सरकारका विभिन्न निकायसँग छलफल गर्दैछन् ।




यही विषयलाई अघि बढाउन कर्णाली प्रदेश सरकारकी प्रवक्ता उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग छलफल गरेकी छन् । कर्णालीका हिमाली जिल्लामा हवाई उडान सञ्चालन र विस्तारका विषयमा भएको छलफल सकारात्मक रहेको मन्त्री खड्काले बताएकी छन् ।

यसैबीच, कर्णालीका हिमाली जिल्लामा हवाई सेवा सञ्चालनको विषयमा बुधबार बिहान ११ बजे मुख्यमन्त्रीले संघीय सरकारका विभिन्न निकायसँग छलफल गर्ने कार्यक्रम छ ।



प्रदेश सरकारले बजेट विनियोजन र कार्यविधि निर्माणको प्रक्रिया अघि बढाए पनि नियमित उडान सञ्चालनका लागि संघीय सरकार तथा नागरिक उड्डयन प्राधिकरणसँगको समन्वय महत्त्वपूर्ण देखिएको छ।

प्रदेश सरकारले सुर्खेतबाट हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालीकोटमा हवाई सेवा सहुलियतका लागि चालु आर्थिक वर्षमा ६० लाख रुपैयाँ छुट्याएको छ । तर, सुर्खेतबाट हिमाली जिल्लामा नियमित उडान गर्ने प्रयास पटक–पटक भए पनि यात्रु अभाव र घाटाका कारण सेवा केही समयमै बन्द हुँदै आएको छ।

हवाई सेवासँगै कर्णालीको समग्र विकासका विषयमा मन्त्री खड्काले संघीय सरकारका अन्य मन्त्रीसँग पनि छलफल गरेकी छन् । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्याक र सामाजिक सुरक्षा मन्त्री सीता बादीसँग कर्णालीका बालबालिकाको स्वास्थ्य अवस्था सुधार, महिलाको जीवनस्तर उकास्ने आत्मनिर्भरमुखी योजना तथा लैङ्गिक र यौनिक अल्पसंख्याक समुदायका अधिकारका विषयमा छलफल भएको छ।

त्यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग कर्णालीका १० वटै जिल्ला अस्पतालमा गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक सामग्री उपलब्ध गराउने विषयमा छलफल भएको मन्त्री खड्काले उल्लेख गरेकी छन्। कर्णाली प्रदेश अस्पतालमा मुटु तथा न्युरोसम्बन्धी उपचार सेवा विस्तार र स्वच्छ खाद्य उपभोगका विषय पनि छलफलमा समेटिएका छन्।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग कृषि क्षेत्रको वैज्ञानिक सुधार, रैथाने बालीको उत्पादन तथा बजारीकरण, दिगो वन व्यवस्थापन र वन अतिक्रमण नियन्त्रणका विषयमा छलफल भएको छ। मन्त्री खड्काले कर्णालीको विकासका लागि संघीय सरकारका मन्त्रीहरू सकारात्मक रहेको बताउँदै छलफलका लागि समय उपलब्ध गराउने सबै मन्त्रीप्रति आभार व्यक्त गरेकी छन्।

हवाई सेवा सञ्चालन मुख्य चुनौती

कर्णालीका हुम्ला, मुगु र डोल्पालगायतका हिमाली जिल्लामा भौगोलिक विकटता र सडक यातायातको असहजताका कारण हवाई सेवा महत्त्वपूर्ण यातायातको माध्यम हो। नियमित उडान नहुँदा नागरिकले आवश्यकताका बेला सहज यात्रा गर्न कठिनाइ भोग्नुका साथै बिरामीलाई उपचारका लागि लैजान र अत्यावश्यक सामग्री ढुवानी गर्नसमेत समस्या हुने गरेको छ।

सुर्खेतबाट हिमाली जिल्लामा हवाई सेवा नियमित बनाउन प्रदेश सरकारले सहुलियतका लागि बजेट छुट्याएको भए पनि कार्यविधि स्वीकृति, उडान सञ्चालनको ढाँचा र सेवा निरन्तरता सुनिश्चित गर्ने विषय अझै टुंगिन बाँकी छ। यात्रु अभाव र सञ्चालन खर्चका कारण विगतमा सेवा बन्द भएकाले यसपटक उडानलाई कसरी नियमित र आर्थिक रूपमा टिकाउ बनाउने भन्ने चुनौतीसमेत छ।

बुधबार संघीय सरकारका विभिन्न निकायसँग हुने छलफलबाट हवाई उडान सञ्चालन र संघीय–प्रदेश समन्वयका विषयमा ठोस निष्कर्ष निस्कने अपेक्षा गरिएको छ । यद्यपि, छलफलबाट हुने निर्णय र कार्यान्वयनको समयतालिका सार्वजनिक भएपछि मात्रै हिमाली जिल्लाका नागरिकले हवाई सेवामा कस्तो सुविधा पाउनेछन् भन्ने स्पष्ट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–८ सभागृह चोकस्थित सडकमा चिप्लेढुङ्गाबाट सभागृह चोकतर्फ आउँदै गरेको ग. १६ प ३६१५ नम्बरको स्कुटर अनियन्त्रित भई गए राति दुर्घटनामा परेको थियो । उक्त दुर्घटना हुँदा स्कुटरमा सवार पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने अन्नपुर्ण गाउँपालिका–१ ढिकुरपोखरी घर भएका २८ वर्षीय आशिष कुँवरको मृत्यु भएको नेपाल प्रहरीको ...
। जिल्ला प्रहरी परिसर काठमाडौंले स्विप अपरेसन चलाएर २४ घण्टाको अवधिमा ९२ जनालाई पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँहरूबाट ९२ जनालाई पक्राउ गरिएको परिसरका प्रवक्ता तथा एसपी दानबहादुर थापाले बताए । पक्राउ परेका मध्ये ८४ पुरुष र ८ महिला छन् । अपराध रोकथाम तथा नियन्त्रण र समाजमा शान्ति सुव्यवस्था कायम गर्न उच्छृङ्खल गतिविधि गर्ने तथा आपराधिक ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सिङ्गो राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने अवस्थामा पुगिरहेको टिप्पणी गरेका छन् । देशको अवस्था थप बिग्रिन नदिन तथा देशलाई कमसेकम स्वतन्त्रता स्वाधीनताको प्रयोग गर्नसक्ने बनाउन आन्दोलनको विकल्प नभएको पनि उनले बताए । बुधबार पार्टी केन्द्रीय कार्यालयमा एमालेका मनोनीत तीनजना केन्द्रीय सदस्यको शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ...
। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाले शिष्टाचार भेट गरेकी छन्। मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा मन्त्री खनालले राजदूत पुइगिन्जालाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेको मन्त्रालयले जनाएको छ । भेटवार्तामा नेपाल–फ्रान्सबीच आपसी हितका विभिन्न विषयमा छलफल भएको थियो । सो अवसरमा हवाई सेवा, जलवायु परिवर्तन, वैज्ञानिक अनुसन्धान तथा ...
। अमेरिकाबाट कुरियरमार्फत काठमाडौं आइपुगेको गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २३ वर्षीय भवर सिंह र ३३ वर्षीय वन्दित पटेल छन् । उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो । अमेरिकाबाट डकुमेन्टको आवरणमा कुरियर गरी पठाइएको १ किलो ३३८ ग्राम गाँजासहित पक्राउ गरिएको ब्युरोका डीएसपी जीवन निरौलाले बताए ।