: सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकी थर्पुमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान परेका छन्।
आज बिहान करिब ९ बजे चैनपुर नगरपालिका–१ नुनढाकी थर्पु निवासी ४८ वर्षीय तेम्बा रिन्जे शेर्पाले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ४९ वर्षीया मिङ्माछिकी शेर्पालाई कुटपिट गरेको र उनी घरभित्र मृत अवस्थामा फेला जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख कुमार प्रसाद मैनाली जानकारी दिए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी नुनढाकीबाट प्रहरी सहायक निरीक्षक विष्णुबहादुर कटवालको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले आरोपित तम्बालाई नियन्त्रणमा लिई प्रहरी चौकी नुनढाकीमा राखेको छ भने घटनास्थल सुरक्षित गरेको जनाएको छ।
थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक परशुराम राईको कमाण्डमा घटनास्थल अनुसन्धान अधिकृत सहितको टोली खटिएको छ। उक्त टोली घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।
घटनास्थल प्रहरी चौकी नुनढाकीबाट करिब सात किलोमिटर पूर्वमा पर्दछ। घटनाको थप विवरण तथा मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।