: इजरायलमा सम्पन्न संसद् (नेसेट) निर्वाचनमा ७७.७ प्रतिशत मतदान भएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार मंगलबार भएको यो मतदान सन् १९९९ यताकै सबैभन्दा उच्च हो।
निर्वाचनमा व्यापक जनसहभागिता रहे पनि एक्जिट पोल (मतदानोत्तर सर्वेक्षण) हरूका अनुसार कुनै पनि गठबन्धनले स्पष्ट बहुमत हासिल गर्न सक्ने देखिएको छैन। प्रधानमन्त्री बेन्जामिन नेतान्याहु नेतृत्वको दक्षिणपन्थी गठबन्धन र उनका प्रमुख प्रतिद्वन्द्वी गादी आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धन दुवै सरकार गठनका लागि आवश्यक ६१ सिटको बहुमत पुर्याउन संघर्षरत देखिएका छन्।
इजरायली टेलिभिजन नेटवर्कहरूका अनुसार १२० सदस्यीय नेसेटमा आइजेनकोट नेतृत्वको विपक्षी 'परिवर्तन गठबन्धन'ले ५२ देखि ५३ सिट र नेतान्याहुको पक्षले करिब ५० सिट प्राप्त गर्ने अनुमान गरिएको छ। त्यसैगरी अरब पार्टीहरूले १७ देखि १८ सिट जित्ने प्रक्षेपण गरिएको छ।
बहुमतका लागि ६१ सिट आवश्यक पर्ने भए पनि नेतान्याहुको 'लिकुड पार्टी' सबैभन्दा ठूलो एकल पार्टी बन्ने सम्भावना छ। यद्यपि, विश्लेषकहरूका अनुसार कुनै पनि दलले स्पष्ट बहुमत नल्याउने भएकाले यो सफलता नेतान्याहुका लागि सान्त्वना मात्र हुनेछ।
सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि गाजा युद्ध तथा लेबनान र इरानसँगको द्वन्द्वका बीच भएको यस निर्वाचनलाई नेतान्याहुको नेतृत्वप्रतिको जनमतका रूपमा हेरिएको छ।
निर्वाचनको नतिजासँगै सरकार गठनका लागि साना दलहरूसँगको वार्ता निर्णायक हुने देखिएको छ। नेतान्याहुले राष्ट्रिय एकताको सरकार गठनको संकेत गरे पनि अति दक्षिणपन्थी नेता इतामार बेन-ग्भिरले आइजेनकोटसँग सहकार्य गर्ने प्रस्ताव अस्वीकार गरेका छन्। उता, नवगठित 'याशर' पार्टीका प्रमुख आइजेनकोटले जनताले परिवर्तनको पक्षमा मतदान गरेको दाबी गर्दै नयाँ सरकार गठन गर्ने प्रतिबद्धता जनाएका छन्।