: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ ।
आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् ।
प्रतिक्रियामा एल-सयदले आफ्नो नाम र धार्मिक आस्थालाई निशाना बनाइएको भन्दै जनताका वास्तविक समस्याबाट ध्यान मोड्ने प्रयास भएको बताएका छन् । उनले महँगी, खाद्यान्नको मूल्य र स्वास्थ्य उपचारको खर्चजस्ता विषयमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले पनि एल-सयदमाथि इस्लामविरोधी टिप्पणी गरिएको भन्दै आलोचना गरेका छन् । उनका अनुसार वास्तविक मुद्दामा जवाफ दिन नसकेपछि यस्तो अभिव्यक्ति दिइएको हो ।
इजिप्टेली मूलका अमेरिकी नागरिक एल–सयद सार्वजनिक स्वास्थ्य क्षेत्रका पूर्वअधिकारी हुन्। उनी आगामी नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन उम्मेदवार माइक रोजर्ससँग प्रतिस्पर्धा गर्दैछन् । उनले जितेमा अमेरिकी सिनेटमा निर्वाचित हुने पहिलो मुस्लिम व्यक्ति बन्नेछन् ।
ट्रम्पले एल–सयदलाई मुस्लिम ब्रदरहुडसँग सम्बन्ध रहेको आरोपसमेत लगाएका छन् । तर एल–सयदले उक्त संगठनसँग कुनै सम्बन्ध नरहेको बताउँदै आएका छन् ।
ह्वाइट हाउसले भने ट्रम्पले एल–सयदका राजनीतिक धारणा र नीतिको आलोचना गरेको जनाएको छ। प्रवक्ता डेभिस इन्गलले एल–सयदका कर, प्रहरी र पेट्रोलबाट चल्ने सवारीसाधनसम्बन्धी प्रस्तावको आलोचना गरेका छन् ।
मिशिगनको सिनेट निर्वाचनलाई अमेरिकी संसद्मा शक्ति सन्तुलन निर्धारण गर्न सक्ने महत्त्वपूर्ण प्रतिस्पर्धामध्ये एक मानिएको छ ।