: जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदाको ९० वर्षको उमेरमा निधन भएको छ। सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीले उनको निधन भएको जानकारी दिएको छ।
स्रोतका अनुसार, फुकुदाको गत बिहीबार मुटुको कार्यविफलता (हार्ट फेलियर)का कारण टोकियोमा निधन भएको हो। उनको अन्त्येष्टि परिवारका निकट सदस्यहरूको उपस्थितिमा निजी रूपमा सम्पन्न भइसकेको छ भने सार्वजनिक श्रद्धाञ्जली सभा पछि आयोजना गरिनेछ।
फुकुदा सेप्टेम्बर २००७ मा प्रधानमन्त्री बनेका थिए। आफ्नो सौम्य कुटनीतिक अडानका लागि परिचित फुकुदाले आफ्ना पूर्ववर्ती शिन्जो आबेको कामलाई निरन्तरता दिएका थिए। प्रधानमन्त्री बन्नुअघि फुकुदाले सन् २००० देखि २००४ सम्म प्रधानमन्त्री योशिरो मोरी र उनका उत्तराधिकारी कोइजुमीको कार्यकालमा साढे तीन वर्ष मुख्य मन्त्रिपरिषद् सचिवका रूपमा काम गरेका थिए।
फुकुदाएलडीपीको निकै कठिन समयमा प्रधानमन्त्री बनेका थिए। जुलाई २००७ को चुनावमा सत्तारूढ गठबन्धनले माथिल्लो सदनमा बहुमत गुमाएको थियो। जसले गर्दा फुकुदाले विभाजित संसद र लोकप्रियता कमाउँदै गएको विपक्षी डेमोक्रेटिक पार्टी अफ जापानसँग जुध्नुपरेको थियो। तत्कालीन विपक्षी नेता इचिरो ओजावासँग एलडीपी र डिपीजीबीच बृहत् गठबन्धन बनाउने वार्ता असफल हुनेसहित उनले अनेकौँ राजनीतिक झट्काहरू सामना गरेका थिए।