: फ्रान्समा सरकारविरोधी प्रदर्शन चर्किएपछि प्रहरीले विभिन्न सहरमा अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ । शनिबार देशभर भएका प्रदर्शनका क्रममा कम्तीमा एक हजार जनालाई नियन्त्रणमा लिइएको अधिकारीहरूले बताएका छन् ।
बिबिसि रिपोर्टका अनुसार फ्रान्सको आन्तरिक मन्त्रालयका अनुसार शनिबार देशभर करिब चार लाख मानिस प्रदर्शनमा सहभागी भएका थिए । तीमध्ये एक लाख १० हजार जना राजधानी पेरिसमा भेला भएका थिए ।
गत साता भएका प्रदर्शनका क्रममा हिंसा, तोडफोड र लुटपाटका घटना भएपछि सरकारले यस सप्ताहान्तमा सुरक्षा व्यवस्था कडा पारेको छ । देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
अधिकांश प्रदर्शन शान्तिपूर्ण रहे पनि केही सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । पेरिससहित विभिन्न सहरमा प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ ।
यसैबीच, दक्षिणी सहर निसमा शान्तिपूर्ण प्रदर्शनमा सहभागीहरूमाथि अतिवादी दक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेको स्थानीय अधिकारीहरूले बताएका छन् । घटनामा पाँच जना घाइते भएका छन्, जसमा तीन जना प्रहरी अधिकारी छन् । घटनासँग सम्बन्धित ६३ जनालाई पक्राउ गरिएको जनाइएको छ ।
फ्रान्समा बढ्दो महँगी र जनजीवनसँग सम्बन्धित असन्तुष्टिका बीच प्रदर्शन भइरहेका छन् । युरोपका अन्य देशमा पनि सरकारविरोधी प्रदर्शन भएका छन् । अल्बानियामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा पानीको फोहोरा प्रयोग गरिएको छ भने इटालीका नेपल्स, रोम र मिलानमा पनि प्रदर्शनका क्रममा तनाव उत्पन्न भएको छ ।