मुख्य समाचार
उखु किसानलाई १२ अर्ब भुक्तानीदेखि गाँजा खेती प्रतिवेदनसम्म
उखु किसानलाई १२ अर्ब भुक्तानीदेखि गाँजा खेती प्रतिवेदनसम्म

। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मन्त्रालयको जिम्मेवारी सम्हालेको ६ महिनामा कृषि, पशुपालन र नीतिगत सुधारका क्षेत्रमा भएका कामहरूको कार्यप्रगति प्राप्त भएको छ ।

१३ चैत २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठन भएयता मन्त्रालयले गरेका कार्यप्रगतिको सूची मन्त्रालयले तयार पारेको हो ।

अनलाइनखबरलाई प्राप्त प्रतिवेदन अनुसार यस अवधिमा किसानको बक्यौता भुक्तानी, दुग्ध विकास संस्थान (डीडीसी) मा सुशासन, रासायनिक मल सुनिश्चितता, वैदेशिक सहायता र गाँजा खेतीको नीतिगत प्रतिवेदनसम्मका काम भएका छन् ।

उखु र धान किसानलाई प्रत्यक्ष राहत, मल र बीमामा सुनिश्चिततासम्म



मन्त्रालयको प्रतिवेदनमा प्रत्यक्ष उपलब्धि किसानको बक्यौता भुक्तानीमा देखिएको छ । चालु आर्थिक वर्ष १३ वटा चिनी मिलमा उखु क्रसिङ गराएका करिब ६८ हजार किसानलाई मिलले तिर्नुपर्ने १२ अर्ब ३६ करोड रुपैयाँमध्ये ९२.०९ प्रतिशत रकम भुक्तानी भइसकेको मन्त्रालयले जनाएको छ ।

बाँकी रकम पनि किसानको खाताको समस्या समाधान गरी केही दिनमै शतप्रतिशत पुर्‍याइने मन्त्रालयको दाबी छ । साथै, सरकारले दिने प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान बापत १ अर्ब ५१ करोड पनि भुक्तानी भइसकेको छ ।

किसानलाई उत्पादनको उचित मूल्य दिन यसै वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० र मध्यम धानको ३ हजार ८ सय ६० रुपैयाँ तोकिएको छ ।

स्थानीय उत्पादनलाई बजारसँग जोड्न थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५० प्रतिशत स्टल ‘किसान सेड’ मार्फत उपलब्ध गराउने निर्णय भएको छ ।



रासायनिक मल अभाव समस्या समाधान गर्न मन्त्रालयले वितरण प्रणाली पारदर्शी बनाएको बताएको छ । अनुदानको मल व्यवस्थापन सूचना प्रणाली (एफएमएस) स्तरोन्नति गर्दै क्यूआर कोडमार्फत सर्वसाधारणले डिलरको मल वितरण हेर्न र गुनासो गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

चालु आवका लागि ३ लाख ३५ हजार टन मल खरिद गर्न ३२ अर्ब ४६ करोड बजेट विनियोजन भएकोमा माग धान्न अर्थ मन्त्रालयबाट थप १० अर्ब रुपैयाँको स्रोत सुनिश्चितता गराइएको छ ।

यसैगरी कृषि तथा पशुधन बीमा अन्तर्गत मन्त्रालयले १ अर्ब २४ करोड २७ लाखभन्दा बढी प्रिमियम अनुदान भुक्तानी गरिसकेको छ भने अनुदान वितरण सहज बनाउन प्रदेशबाटै अनलाइन मार्फत भुक्तानी हुने व्यवस्था लागु गरिएको प्रतिवेदनमा उल्लेख छ ।

डीडीसीमा कर्मचारीको अवैध सुविधा कटौतीदेखि खाडीमा घिउ निर्यातसम्म

विगतमा चरम आर्थिक संकट र बेथितिमा फसेको दुग्ध विकास संस्थान (डीडीसी) मा मन्त्री चौधरीको नेतृत्वपछि सुधार आएको छ ।

किसानले दूधको भुक्तानी पाउन ६ महिना कुर्नुपर्ने बाध्यता अन्त्य गर्दै भुक्तानी अवधि ३ महिनामा झारिएको छ । वैशाखदेखि १५ असारसम्म मात्रै ३५ करोड रुपैयाँ भुक्तानी गरिएको छ भने ६८ करोडको बक्यौतालाई ४५ करोडमा झारिएको छ ।

भदौ मसान्तसम्मको भुक्तानी नियमित भइसकेको र किसानले पाउने दूधको मूल्यमा प्रतिलिटर १ रुपैयाँ थप गरी ६६ रुपैयाँ कायम गरिएको छ । दूधको गुणस्तर सुधार गर्न फ्याट र एसएनएफ मापदण्डमा कडाइ गरिएको छ ।

संस्थानभित्रको बेथिति रोक्न कर्मचारीले कानुन विपरीत लिँदै आएको ‘दूध–घिउ सुविधा’ पूर्ण रूपमा कटौती गरी वार्षिक ३ करोड रुपैयाँ व्ययभार घटाइएको छ ।

दुग्धजन्य पदार्थ बिक्री ५० प्रतिशतले बढ्दा दैनिक राजस्वमा २० लाख रुपैयाँ वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । डीडीसीले खाडी मुलुकमा वार्षिक ५० टन घिउ निर्यात गर्ने सम्झौता गरेको छ, जसअन्तर्गत पहिलो चरणमा ४ सय ५० लिटर घिउ निर्यात भइसकेको छ ।



१० वर्षदेखि बन्द रहेको नगरकोटको पनिर र चिज उत्पादन केन्द्र पुन: सञ्चालनमा ल्याइएको छ भने कोशी प्रदेशको पशुपतिनगरमा नयाँ चिज उत्पादन आयोजना स्थापनाको काम अघि बढाइएको मन्त्रालयको भनाइ छ । उपत्यका र बाहिर गरी २७ वटा नयाँ आउटलेट सञ्चालनमा ल्याइएका छन् ।

नार्कमा कर्मचारी बर्खास्तदेखि ह्वाट्सएपबाटै माटो परीक्षण रिपोर्ट

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) भित्रको सुशासन कायम गर्न मन्त्रालयले अध्ययन बिदा सकिएर पनि कार्यालय नफर्किएका २ जना कर्मचारीलाई सेवाबाट बर्खास्त गरिएको बताएको छ ।

२०७९ सालदेखि रोकिएको पदपूर्ति प्रक्रिया पुन: सुरु गरी करिब २ सय ५० भन्दा बढी नयाँ वैज्ञानिक, प्राविधिक र प्रशासकीय कर्मचारी नियुक्त गरी काठमाडौं उपत्यका बाहिरका कार्यालयमा खटाइएको छ ।

नार्कका सबै सामानको भौतिक परीक्षणपछि अनिवार्य क्यूआर कोडसहित लेबल लगाउने कार्यको सुरुवात भएको छ भने ई–हाजिरी र कार्यसम्पादनमा आधारित प्रणाली लागु गरिएको छ ।

कृषि प्रविधिमा पनि महत्त्वपूर्ण फड्को मारिएको विवरणमा उल्लेख छ । विद्युतीय माटो नक्सा प्रणाली विकास गरी किसानले ह्वाट्सएप मार्फत नै आफ्नो माटो स्वास्थ्य प्रमाणपत्र प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।



पशुपन्छी रोगको ल्याब रिपोर्ट क्यूआर कोडमार्फत मोबाइलमै हेर्न मिल्ने र रोगको संक्रमण फैलिनासाथ ७ सय ५३ वटै पालिकामा अटोमेटिक अलर्ट म्यासेज जाने प्रणाली सञ्चालनमा ल्याइएको उल्लेख छ । सार्वजनिक बिदाका दिनमा समेत पशु सेवा विभाग अन्तर्गत भेटेरिनरी कार्यालयबाट सेवा प्रवाह हुने व्यवस्था मिलाइएको छ ।

गाँजा खेतीको प्रतिवेदन तयार, सुन्तला र अलैँचीलाई जीआई ट्याग

मन्त्रालयले कृषि क्षेत्रका पुराना कानुन परिमार्जन र नयाँ नीति निर्माणमा विशेष जोड दिएको छ । बहुचर्चित ‘नेपालमा गाँजा खेती’ सम्बन्धी कानुनी प्रावधान र नीतिगत सुझाव सहित विस्तृत प्रतिवेदन तयार पारिएको छ ।

‘राष्ट्रिय कृषि नीति २०८३’ मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ भने ‘कृषि विधेयक २०८३’ र ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक’ अघि बढेका छन् ।

नेपाली कृषि उपजको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि पर्वत बाँसखर्कको सुन्तला र ताप्लेजुङ फाक्लालुङको अलैँचीलाई भौगोलिक संकेत (जीआई) मार्फत संरक्षण गर्न मापदण्ड निर्धारणको काम भइरहेको छ ।

भारत तथा तेस्रो मुलुकबाट आयात हुने आँपलाई तातोपानीमा उपचार (४८ डिग्री सेल्सियसमा ६० मिनेट) गरेर मात्र प्रवेश अनुमति दिने कडा नियम लागु गरिएको छ भने अवैधानिक रूपमा भइरहेको केरा आयातमा पूर्ण रोक लगाइएको छ ।



यसै अवधिमा झन्डै १० हजार ताजा तरकारी र फलफूलको विषादी परीक्षण गरिएकोमा उपभोग अयोग्य देखिएका ४० वटा नमुना नष्ट गरिएको प्रतिवेदनमा उल्लेख छ ।

कृषि आधुनिकीकरण, किसान सूचीकरण र बिउबिजनमा आत्मनिर्भरतासम्म

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत हजारौं हेक्टरमा फलफूल, चैते धान र खाद्यान्न बालीको विस्तार गरिएको छ । कृषकलाई १४ हजार ९ सय ६९ वटा साना–ठूला कृषि औजार तथा मेसिनरीहरू लागत सहभागितामा वितरण गरिएको छ भने अलैँची प्रशोधनका लागि १ सय ३२ वटा आधुनिक भट्टी निर्माण गरिएका छन् ।

किसान सूचीकरण प्रणालीमा हालसम्म २६ लाख ७७ हजार किसान आबद्ध भएका छन् भने ८० हजार किसानले मोबाइलमा मौसमी तथा प्रविधि सम्बन्धी एसएमएस प्राप्त गरिरहेका छन् ।

कृषि उत्पादन वृद्धिका लागि विभिन्न बालीका ३ सय ८४ जात सूचित वा पञ्जीकृत गरिएका छन् भने गहुँका चार नयाँ जात (सारस, भैरव, बडिमालिका र गुराँस) उन्मोचन भएका छन् । पोषणयुक्त (बायोफोर्टिफाइड) गहुँको व्यावसायीकरणका लागि नार्क र बिग एग्रो ग्रुपबीच सम्झौता समेत भएको छ ।

वैदेशिक सहायतामा अर्बौंको सम्झौता, कृषि निर्यातलाई छुट्टै डेस्क

मन्त्री चौधरीको पहलमा कृषि, पशुपालन र जलवायु अनुकूलनका क्षेत्रमा अन्तर्राष्ट्रिय दातृ निकायसँग अर्बौंका सम्झौता भएका छन् ।

ग्लोबल इन्भाइरोमेन्ट फ्यासिलिटी (जीईएफ) सँग मध्यत्रिशूलीमा रैथाने माछा संरक्षणका लागि १३ लाख ७० हजार अमेरिकी डलर र जलवायु उत्थानशील धान उत्पादनका लागि १ करोड ३० लाख डलरको परियोजना सुरु भएको मन्त्रालयले उल्लेख गरेको छ ।

यसैगरी दक्षिण कोरियासँग धान उत्पादनका लागि १ करोड २० लाख डलर, फलफूल तथा तरकारी मूल्य शृङ्खलाका लागि १ करोड डलर र दुग्ध परियोजनाका लागि ६७ लाख ६० हजार डलरको सम्झौता भएको छ ।



विश्व बैंक र एफएओको सहकार्यमा रानी जमरा कुलरिया सिँचाइ आयोजना (तेस्रो चरण) का लागि १ करोड ५० लाख डलर अनुदान प्रस्ताव अघि बढाइएको छ ।

चीन सरकारसँग डीडीसी बालाजुको उद्योग पुनर्संरचनाका लागि १ अर्ब ४४ करोडको प्रस्ताव गरिएको छ भने भारतसँग पशुपन्छी रोग नियन्त्रण र बाँदर नियन्त्रणका लागि कूटनीतिक पहल अघि बढाइएको छ ।

मन्त्रालयका अनुसार फ्रान्स सरकारसँग रेबिज र पीपीआर खोप उत्पादनका लागि मास्टर सिड ल्याउने सहमति भएको छ । यसबाहेक कृषि उत्पादन निर्यात प्रक्रिया सहज बनाउन मन्त्रालयमा छुट्टै ‘एक्स्पोर्ट फेसिलिटेसन फोकल डेस्क’ समेत सञ्चालनमा ल्याइएको छ ।

कार्यान्वयन परिणाम हेर्न बाँकी

यद्यपि, मन्त्रालयको यो ६ महिने प्रगति विवरण अध्ययन गर्दा सबै योजना र कार्यक्रम पूर्ण रूपमा कार्यान्वयनमा आइसकेका छैनन् । उखु किसानको भुक्तानी, डीडीसीको सुधार र नार्कमा प्रविधिको सुरुवात जस्ता विषय तत्कालका उपलब्धि देखिए पनि दीर्घकालीन महत्त्वका थुप्रै कामहरू अझै ‘प्रस्ताव’, ‘मस्यौदा’ र ‘सहमति’ कै चरणमा छन् ।

उदाहरणका लागि बहुचर्चित ‘गाँजा खेती’ प्रतिवेदन तयार भए पनि यसले कानुनी रूप लिन बाँकी नै छ । ‘कृषि विधेयक’, ‘पशु चिकित्सा परिषद् ऐन संशोधन’ र ‘मल नियन्त्रण आदेश’ जस्ता महत्त्वपूर्ण कानुन अर्थ र कानुन मन्त्रालयको सहमतिको पर्खाइमा छन् ।



चीन, ब्राजिल र विश्व बैंकसमक्ष अघि सारिएका अर्बौंका अनुदान तथा सहायताका प्रस्ताव स्वीकृत भएर फिल्डमा लागु हुन लामो समय लाग्ने देखिन्छ ।

त्यसैगरी किसानलाई सताइरहेको बाँदर नियन्त्रण योजना अझै अवधारणापत्र र कानुनी स्पष्टता खोज्ने चरणमै सीमित छ ।

नीतिगत सुधारको जग बसाल्ने र वैदेशिक सहायता भित्र्याउने प्रयास हुनुलाई सकारात्मक मान्न सकिन्छ । तर, ती मस्यौदालाई छिटो कानुनको रूप दिएर तथा विदेशी सहायताका प्रस्तावलाई वास्तविक बजेटमा रूपान्तरण गरेर किसानको खेतबारीसम्म पुर्‍याउनु नै मन्त्री चौधरीका लागि आगामी दिनको सबैभन्दा ठूलो चुनौती हुनेछ ।

अहिले प्रस्ताव र प्रक्रियामा रहेका यी योजनाको सफल कार्यान्वयनले मात्रै उनको कार्यकालको वास्तविक मूल्यांकन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: धनुषामा दम्पतीबीच विवाद हुँदा श्रीमानले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् भने त्यसपछि स्वयम् पनि आत्महत्या गरेका छन्। धनुषाको मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वर मौवाहीस्थित ससुराली गएको समयमा शनिबार राति ९ बजे विवाद हुँदा श्रीमती र छोरामाथि धारिलो हतियार प्रहार भएको थियो। घटनामा श्रीमतीको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन्। धनुषाको उत्तरी ...
: इजरायलमा संसदीय निर्वाचन हुनु तीन दिन मात्र बाँकी रहँदा शनिबार राजधानी तेल अभिभमा हजारौं मानिसले प्रदर्शन गरेका छन्।प्रदर्शनकारीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको सरकारसँग सन् २०२३ अक्टोबर ७ मा भएको हमास आक्रमणसँग जोडिएका सुरक्षा त्रुटिहरूको स्वतन्त्र छानबिन गर्न माग गरेका छन्। समाचार एजेन्सी एएफपीका अनुसार 'अक्टोबर काउन्सिल' नामक समूहद्वारा आयोजित उक्त प्रदर्शनमा चार प्रमुख विपक्षी दलका ...
: नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ पाँच अर्ब ९२ करोड ५० लाख बराबरको विद्युत् निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आव भदौको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको छ । प्राधिकरणका ...
। दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । ४८ वर्षीय केशव विकको घरमा जुवातास खेलिरहेको अवस्थामा केशवसमेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ७ सय ७५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको नेपाल प्रहरीको ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेल सञ्चालन हुने भएपछि त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालय परिसरमा प्रवेश गर्ने प्राध्यापक,कर्मचारी तथा विद्यार्थीलाई परिचयपत्र साथमा ल्याउन अनुरोध गरेको छ। विश्वविद्यालय क्याम्पस,कीर्तिपुरस्थित प्रिन्सिपलको कार्यालयले आइतबार सूचना जारी गर्दै विश्वविद्यालय परिसरमा प्रवेश गर्ने सबैलाई अनिवार्य रूपमा आफ्नो परिचयपत्र साथमा ल्याउन आग्रह गरेको हो। एनपीएलको तेस्रो संस्करणअन्तर्गतका क्रिकेट खेलहरू कात्तिक ९ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम