: विगत १५ दिनदेखि बन्द अवस्थामा रहेको चुम उपत्यका जाने अस्थायी बाटो खुलेको छ। स्यार खोलामा चारवटा फड्के निर्माण सम्पन्न गरेपछि आइतबार दिउँसोबाट चुम उपत्यकामा मानिस तथा खच्चड हिँड्न सक्ने भएको स्थानीय सेराप गुरुङले जानकारी दिए।
गत असोज २५ गते आएको हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि आएको बाढीले सर्दीभीरको क्यान्टिभर पुल बगाएर चुम उपत्यका आवतजावत गर्न नसकिने अवस्थामा पुगेको थियो। लामो समयसम्म खच्चड हिँडाउन नसक्दा चुमनुब्री गाउँपालिका वडा नं. ६ र ७ का गाउँबस्तीमा खाद्यान्न अभाव हुन सक्ने त्रास थियो।
स्थानीय बासिन्दा जुटेर बाढी गएको भोलिपल्टदेखि नै बाटो सफा गर्ने काम सुरु गरेका थिए। ‘लगातार १५ दिनसम्म स्थानीय बासिन्दा जुटेर पिक्यूखोलामा एउटा र स्यार खोलामा तीनवटा फड्को बनायौँ,’ उनले भने, ‘बाढीले बगाएको ठाउँमा वैकल्पिक बाटो पनि बनायौँ। अब स्थानीय बासिन्दा, पर्यटक र खच्चडसमेत हिँड्न सक्ने भएको छ।’
१५ दिनसम्म खाद्यान्न ढुवानी नहुँदा चुम उपत्यकामा खाद्यान्न अभावको अवस्था आउन लागिसकेको थियो। बाटो खुलेपछि सो समस्या पनि टरेको उनले बताए। गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट बजेट विनियोजन गरी स्थानीय बासिन्दा परिचालन गरेर तत्काल आवतजावत गर्न मिल्ने गरी अस्थायी फड्के निर्माण गरेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए।
‘गाउँपालिका, स्थानीय संघसंस्था र स्थानीय समाजसेवी जुटेर तत्काल हिँड्न सकिने अस्थायी बाटो बनायौँ,’उनले भने, ‘यो पुल त बढीमा वैशाख, जेठसम्म मात्र हो। दीर्घकालका लागि सर्दीभीरको बाटो नबनाई सुखै छैन। कि त्यहाँ विस्फोट गरेर पहरो फोरेर बाटो खुलाउनु पर्छ, कि क्यान्टिभर पुनर्निर्माण गर्नुपर्छ।’ यसका लागि उनले संघीय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए।