। नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले पुराना राजनीतिक दल र नेताहरूले केही काम नगरेको भन्ने भाष्य तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न चुनौती दिएका छन् ।
दुई महिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा उनले विगत ३५ वर्षमा केही भएन भन्नेहरूलाईलाई उक्त चुनौती दिएका हुन् । मनोगत ढङ्गले आरोप लगाएर मात्रै नहुने बताउँदै उनले तथ्यले पुष्टी भएमा केही गर्न नसकेको स्वीकार गर्न आफूहरू तयार रहेको बताए ।
‘एउटा भाष्य के छ भने यी पुराना पार्टीहरूले केही पनि गरेनन् । यी पुराना नेताहरूले केही पनि गरेनन् । देशमा केही पनि भएन । त्यो भाष्य कति सही हो कति गलत हो ? यो मनोगत ढङ्गले आरोप लगाएर हुँदैन । तथ्यगत रूपमा त्यसलाई पुष्टि गर्नुपर्ने हुन्छ । तथ्य र प्रमाणले पुष्टि गर्छ भने त्यसलाई स्वीकार गर्न तयार हुनुपर्छ । तथ्यले त्यसलाई खण्डन गर्छ भने त्यसलाई अस्वीकार गर्न पनि तयार हुनुपर्छ,’ नेपालले भने ।
२०४७ सालपछि वामपन्थी तथा कम्युनिष्ट पार्टीका नेतृत्वले सरकारमा रहँदा गरेका कामको विवरण सार्वजनिक गर्ने पनि उनले बताए । साथै, विभिन्न समयमा आफूहरू सरकारको नेतृत्वमा पुगेको र संघ, प्रदेश तथा स्थानीय तहमा पार्टीका नेता–कार्यकर्ताले जिम्मेवारी सम्हालेको उल्लेख गरे ।
‘२०४७ साल यता वामपन्थीहरूले, कम्युनिष्टहरूले सरकारमा गएर के–के जिम्मेवारीहरू पूरा गरे ? हाम्रो पार्टीसँग जोडिएका नेता–कार्यकर्ताहरूले के–के जिम्मेवारीहरू पूरा गरे ? यी कामहरू फलानो कामहरू कसले गर्यो भन्ने प्रश्न उठाइसकेपछि त्यसको जवाफ सिधै देख्न सकियोस् । हामी अमूर्त कुरा गरिरहेका छैनौं,’ नेपालले भने, ‘हामी ढाँट कुरा पनि गरिरहेका छैनौँ । तर आज हामी के देख्दछौँ भने गरिएका कामहरूलाई पनि ढाकछोप गर्ने, त्यसको चर्चा पनि गर्न नचाहने, जोखिमपूर्ण कामहरू सुरु गरेको, देशको त्यस्तो दुर्गतिलाई सम्बोधन गर्ने काम गरेको, यी सबै कुराको चर्चा पनि गर्न नचाहने, जस पनि दिन नचाहने, अपजस मात्रै अरूको थाप्लोमा पार्ने यो प्रवृत्ति व्याप्त छ ।’