: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेका हुन्।
राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको रक्षा, जनजीविका तथा पार्टी समायोजन, सदस्यता नवीकरण र संगठन सुदृढीकरणका लागि राष्ट्रिय राजनीतिक तथा संगठनात्मक विशेष अभियानका रूपमा नेकपाले राष्ट्रिय जागरण अभियान सुरु गरेको हो। अभियानमा सहभागिताका लागि पार्टीका तर्फबाट अपिल जारी गर्दै संयोजक प्रचण्डले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग सम्बन्धित चुनौती तथा भूराजनीतिक चलखेलप्रति गम्भीरतापूर्वक सचेत हुनुपर्ने अवस्था रहेको बताए।
अभिव्यक्ति स्वतन्त्रताका लागि भएका आन्दोलनको जगमा गठन भएको सरकारबाटै फरक मतप्रति असहिष्णु व्यवहार देखाइएको, बोल्ने र प्रश्न गर्ने जनताको स्वतन्त्रतामाथि रोक लगाइएको तथा निजी क्षेत्र र नागरिक अधिकारमाथि हस्तक्षेप गरी भय र त्रासको वातावरण सिर्जना गरिएको आरोप उनले लगाए। आफ्ना विगतका कामहरूको इमानदारीपूर्वक समीक्षा गरी गल्ती तथा कमजोरीप्रति आत्मालोचित हुँदै जनताको विश्वास र भरोसा अझ बलियो बनाएर अघि बढ्ने प्रचण्डले बताए।
अभियानका क्रममा जनताले भोगेका समस्याहरूलाई स्थानीय, प्रदेश र सङ्घीय तहका सम्बन्धित निकायसमक्ष पुर्याउने, आवश्यकता अनुसार मागपत्र तथा ज्ञापनपत्र प्रस्तुत गर्ने र समाधानका लागि निरन्तर पहल गर्ने प्रचण्डको भनाइ छ।
नेपाल कम्युनिस्ट पार्टीको यो राष्ट्रिय जागरण अभियान आगामी मङ्सिर २५ गते समापन हुनेछ।