: बाँकेमा दुई वटा कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।
राप्तीसोनारी गाउँपालिका–१, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते सोही कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाहीको अवस्था सामान्य रहेको छ। कार चालक डोटीका ४५ वर्षीय नरेन्द्रबहादुर शाहीको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रालिमा उपचार भइरहेको छ।
त्यस्तै, बा.प्र.०१–०३० च ८४९६ नम्बरको कारमा सवार दाङ, घोराही–७ का ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन्। उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।