: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले पुनः ‘एपिक फ्युरी’ जस्तै सैन्य अभियान चलाउन सक्ने बताएका छन्।
यद्यपि, उनले अमेरिका र इरानबीच सम्झौताको सम्भावना अझै कायम रहेकोसमेत उल्लेख गरेका छन्। शुक्रबार फ्लोरिडामा आयोजित एक चुनावी र्यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने, 'हामी अर्को एउटा सानो ‘एपिक फ्युरी’ जस्तै अभियान सञ्चालन गर्न सक्छौँ, वा उनीहरू (इरान) सम्झौतामा आउन सक्छन्।'
इरानले समझदारी देखाएमा उसले गम्भीर वार्ताका लागि प्रस्ताव अघि बढाउनुपर्ने ट्रम्पको भनाइ थियो। तर, इरानले त्यसो गर्नेमा भने आफूलाई शंका रहेको उनले बताए।
अहिले इरानको अर्थतन्त्र विश्वकै सबैभन्दा खराब अवस्थामा पुगेको दाबी गर्दै ट्रम्पले अमेरिकाका कारण इरानलाई भारी क्षति पुगेको उल्लेख गरे। यसअघि पनि शुक्रबार ट्रम्पले अमेरिकाले इरानसँगको युद्ध चाँडै समाप्त गर्न सक्ने बताएका थिए। तर, युद्धलाई चाँडै अन्त्य गर्ने प्रयास गर्ने वा द्वन्द्वलाई बिस्तारै शान्त हुन दिने भन्नेबारे अमेरिकाले विचार गर्नुपर्ने उनको भनाइ थियो।