: मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएका दुईजना जापानी नागरिकको शव फेला परेको छ। मनाङको डिस्याङ गाउँपालिका वडा नम्बर ६ मा पर्ने उक्त हिमाल आरोहणका क्रममा उनीहरू बेपत्ता भएका थिए। जापानको टोकियो निवासी दुईजना पर्वतारोहीको शव शुक्रबार फेला परेको हो। उनीहरूको शव काठमाडौं ल्याउने तयारी भइरहेको छ। काठमाडौंमा पोस्टमार्टम गरेपछि नेपालस्थित जापानी राजदूतावासको रहोबरमा परिवारको जिम्मा लगाइनेछ।
जापानी नागरिक हिदे सुके टेनिसी र तेचु हासिमुदोको शव फेलाको प्रहरीले बताएको छ। मृतक दुबैजना पुरुष हुन्। मनाङ क्षेत्रबाट गंगापूर्ण हिमाल चढेका उनीहरूको शव माछापुच्छ्रे क्षेत्रमा भेटिएका प्रहरीले जनाएको छ। बेपत्ता भएकाहरूको हेलिकोप्टरबाट खोजी गरिएको थियो।
काठमाडौंस्थित कस्मो एडभेन्चरबाट नेपाली गाइडसहित भदौ २७ गते उनीहरू गंगापूर्ण हिमाल आरोहण गर्न गएका थिए। उनीहरूले असोज २४ गतेबाट आरोहण सुरू गरेका थिए। सँगै गएका गाइडले असोज २९ गतेदेखि उनीहरू बेपत्ता भएको खबर काठमाडौंस्थित कम्पनीलाई जानकारी गराएपछि घटना बाहिर आएको थियो।
उक्त हिमालको उचाई ७४५५ मिटर रहेको छ। आरोहीहरू ७ हजार ५० मिटरबाट सम्पर्कविहीन भएका थिए। खोजीका क्रममा उनीहरूले प्रयोग गर्ने झोला र लौरो फेला परेको थियो। प्रहरीले बेपत्ता भएपछि जापानीजका परिवारलाई समेत खबर गरेको थियो।