: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। बिहीबार बिहान १० बजेको एयर इन्डियाको नियमित उडानबाट वाग्ले नयाँदिल्ली पुगेका हुन्।
दुई सदस्यीय भ्रमण दलमा उनी र उनका प्रमुख स्वकीय सचिव नवीन ढुङ्गाना सहभागी छन्। अर्थमन्त्री डा. वाग्लेलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षामा भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका छन्। भारतीय ख्यातिप्राप्त टेलिभिजन च्यानल ‘वर्ल्ड समिट २०२६’ को उच्चस्तरीय प्यानलमा अतिथि र वक्ताका रूपमा सम्बोधन गर्न अर्थमन्त्री वाग्ले दिल्ली गएका हुन्। उनी बिहीबार साँझको उक्त समिट अन्तर्गत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री डा. एस. जयशंकरको विशेष सम्बोधन सत्रमा अतिथिका रूपमा सहभागी हुनेछन्।
शुक्रबार बिहान सवा ११ बजे उनले समिट अन्तर्गतको आफ्नो सत्रमा सहभागी भएर सम्बोधन गर्ने कार्यतालिका छ।