: असोज शुक्ल पक्षको एकादशीका अवसरमा बिहीबार भक्तपुरको मध्यपुर थिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी खाँ पिहाँवइगु जात्रा सम्पन्न भएको छ।
तत्कालीन राजदरबारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने साधन बोकेर युद्ध कला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिन्छ। दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारले जामा लगाई खड्ग, ढाल र तरबार हातमा बोकेर नगरका विभिन्न टोलमा तत्कालीन युद्धकला प्रदर्शन गर्दछन्।
तत्कालीन दरबारबाट निकालिने यो जात्रालाई थहनेया टोल (माथिल्लो टोल)को रूपमा इनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल (तल्लो टोल)को रूपमा दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिने परम्परा छ। जात्रामा दसैंको नवमीमा तलेजु भवानीलाई चढाइएको बलि र कोतभित्र अवस्थित देवता र दरबारको राजदण्डलाई सम्मिलित गराएर नगर परिक्रमा गराइन्छ।
जात्राका अवसरमा बालकुमारीमा कुभिन्डो मार हानेर बलि दिइन्छ। बलि दिइएको कुभिन्डो प्रसादको रुपमा लिए रोगबाट बच्न सकिने जनविश्वास रहेको छ। जात्रा अवलोकनका लागि स्थानीयवासीको ठूलो भीड लाग्ने गर्दछ।