: केन्द्रीय कारागार नुवाकोटका कैदीबन्दीहरूले सामूहिक रूपमा बडादसैँको टीका र जमरा लगाएका छन्। उनीहरूले एकआपसमा खुसीयाली साटासाट गर्दै सामूहिक रूपमा दसैँको टीका र जमरा लगाएका हुन्।
विदुर नगरपालिका–६, चण्डीपोखरीस्थित खम्पाक्याम्पमा रहेको नुवाकोट कारागारमा बन्दी जीवन बिताइरहेका थुनुवा तथा कैदीबन्दीहरूले हर्षोल्लासका साथ दसैँ मनाएको कारागार प्रशासनले जनाएको छ।
कारागारमा ७ सय ३३ जना कैदीबन्दीहरू रहेको जेलर भेषबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार कारागारमा रहेका कैदीबन्दीका आफन्तहरूले कारागारमै आएर विजयादशमीको टीका तथा जमरा लगाइदिएका हुन्। उनीहरूलाई बिहान ९ देखि बेलुकी ४ बजेसम्म टीका र जमरा लगाउनका लागि समय दिइएको छ।