मुख्य समाचार
रुस र युक्रेनबीच शान्ति वार्ता पुन: सुरु गर्ने विषयमा कूटनीतिक पहल भइरहेका बेला युक्रेनको राजधानी किएभमा रुसी क्षेप्यास्त्र आक्रमण
रुस र युक्रेनबीच शान्ति वार्ता पुन: सुरु गर्ने विषयमा कूटनीतिक पहल भइरहेका बेला युक्रेनको राजधानी किएभमा रुसी क्षेप्यास्त्र आक्रमण

। रुस र युक्रेनबीच शान्ति वार्ता पुन: सुरु गर्ने विषयमा कूटनीतिक पहल भइरहेका बेला युक्रेनको राजधानी किएभमा रुसी क्षेप्यास्त्र आक्रमण भएको छ । बुधबार राति भएको आक्रमणमा कम्तीमा ६ जना घाइते भएका छन् ।

युक्रेनसँग शान्ति वार्ता पुन: सुरु गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा रुस सहमत भएलगत्तै किएभमा क्षेप्यास्त्र प्रहार भएको बीबीसीले जनाएको छ ।

किएभका मेयर भिटाली क्लित्स्कोका अनुसार आक्रमणमा केही घरमा क्षति पुगेको छ ।

यसैबीच, ट्रम्पका विशेष दूत स्टिभ विट्कफ र उनका ज्वाइँ जारेड कुश्नरको सक्रियतामा युद्ध अन्त्य गर्ने विषयमा कूटनीतिक छलफल अघि बढाइएको छ ।



विट्कफले बुधबार रुसको सेन्ट पिटर्सबर्गमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका थिए । त्यसको एक दिनअघि उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि छलफल गरेका थिए । मंगलबार नर्वेको राजधानी ओस्लोमा भएको भेटवार्तामा युक्रेनको सुरक्षाका लागि बलियो प्रत्याभूति र ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने प्रस्तावबारे छलफल भएको जेलेन्स्कीले बताएका छन् ।

तर, पुटिनका सहयोगी युरी उशाकोभले प्रस्तुत विचारहरू खासै उपयोगी नभएको टिप्पणी गरेका छन् ।

नोभेम्बर १० आसपास अबुधाबीमा वार्ता हुन सक्ने

रुस, युक्रेन र अमेरिकाका अधिकारीहरूबीच युद्ध अन्त्य गर्ने उद्देश्यले यसअघि पनि विभिन्न चरणमा वार्ता भएका थिए । तर, फेब्रुअरीमा त्रिपक्षीय वार्ता रोकिएपछि रुसले युक्रेनमाथि आक्रमण तीव्र बनाएको छ । युक्रेनले क्षेप्यास्त्र प्रतिरक्षाका लागि पश्चिमी मुलुकबाट प्राप्त अवरोधक क्षेप्यास्त्रको अभाव झेलिरहेको छ ।

सेन्ट पिटर्सबर्गमा भएको पछिल्लो छलफलपछि उशाकोभले आगामी नोभेम्बर १० आसपास संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा अर्को चरणको वार्ता हुन सक्ने संकेत गरेका छन् ।

उनका अनुसार वार्ताको मुख्य विषय युद्ध अन्त्य भएपछि रुस र युक्रेनका लागि सुरक्षा प्रणाली निर्माण गर्नु हुनेछ ।

उशाकोभले पुटिनले रुसी सेना युद्धमोर्चाका विभिन्न क्षेत्रमा अघि बढिरहेको र रणनीतिक पहल आफ्नै पक्षमा रहेको दाबी गरेको पनि बताए । तर, युक्रेन र उसका युरोपेली सहयोगीहरूले रुसी पक्षको उक्त दाबी अस्वीकार गर्दै युद्धमोर्चामा खासै ठूलो परिवर्तन नभएको बताएका छन् ।

अहिलेको युद्धमोर्चालाई स्थिर राख्न जेलेन्स्की तयार

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले वर्तमान युद्धमोर्चालाई आधार बनाएर युद्धविराम गर्न आफू तयार रहेको बताएका छन् ।

‘हामी यसलाई युद्धविराम वा हत्या रोक्ने प्रक्रिया भन्छौँ । अहिलेका लागि रुसबाट हामीले चाहेको न्यूनतम कुरा यही हो,’ उनले बुधबार फक्स न्युजसँग भनेका छन् ।

उनले युद्धविरामपछि युक्रेनको सुरक्षाको प्रत्याभूतिबारे छलफल गर्न सकिने पनि बताएका छन् ।

अमेरिकी विशेष दूत विट्कफले पुटिनसँगको छलफललाई रचनात्मक भनेका छन् । भिडियोमार्फत सहभागी कुश्नरले भने युद्ध अन्त्य गर्न अझै धेरै काम बाँकी रहेको उल्लेख गर्दै दीर्घकालीन शान्ति, सुरक्षा र समृद्धिको आधार तयार गर्ने अवसर रहेको बताएका छन् ।

ट्रम्प र युक्रेनबीच बढ्दो मतभेद

शान्ति वार्ताको पहल भइरहे पनि युक्रेन र अमेरिकी प्रशासनबीचको सम्बन्धमा तनाव बढिरहेको छ ।

राष्ट्रपति ट्रम्पले युक्रेनमा नयाँ राष्ट्रपति आवश्यक रहेको र युद्ध अन्त्यका लागि युक्रेनको तर्फबाट अरू कसैले वार्ता गर्नुपर्ने टिप्पणी गरेका छन् । उनले इरानविरुद्ध अमेरिकाको नेतृत्वमा भइरहेको युद्ध सुरु भएयता बढेको इन्धनको मूल्यका लागि रुसी तेल प्रशोधन केन्द्रमाथि युक्रेनले गरेका आक्रमणलाई पनि दोष दिएका छन् ।

रुसमाथिका प्रतिबन्ध खुकुलो पारेर ठूलो परिमाणमा डिजेल अमेरिकी तथा विश्व बजारमा बिक्री गर्न अनुमति दिएको विषयमा पनि ट्रम्पको आलोचना भएको छ । केही साताअघि मात्रै रुसको तेल तथा ग्यास आयात गर्ने मुलुकमाथि नयाँ प्रतिबन्ध र भन्सार शुल्क लगाउने कानुनलाई उनले समर्थन गरेका थिए ।

ट्रम्पको निर्णयप्रति जेलेन्स्की र युरोपेली सहयोगीहरूले असन्तुष्टि जनाएका छन् ।

गत साता युक्रेनले रुसी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहारबारे नागरिकलाई पूर्वसूचना दिन आवश्यक अमेरिकी गुप्तचर सूचना उपलब्ध नगराइएको आरोप लगाएको थियो । त्यसका कारण धेरै सर्वसाधारणको ज्यान गएको युक्रेनी पक्षको दाबी थियो ।

तर, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मंगलबार उक्त आरोपलाई ‘लज्जास्पद’ भन्दै अस्वीकार गरेका थिए । ओस्लोमा भएको छलफलपछि जेलेन्स्कीले भने अहिले गुप्तचर सूचना आदानप्रदान भइरहेको बताएका छन् ।

यसैबीच, युक्रेनी सेनाले अमेरिकी स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकमा लगाइएको गति सीमाले रुसमाथि ड्रोन आक्रमण गर्ने क्षमतामा असर परेको गुनासो गरेको छ । अमेरिकी अधिकारीहरूले आफूहरूले त्यस्तो गति सीमा लगाउन अनुरोध नगरेको बताएका छन् । अमेरिकी सिनेटका दुवै प्रमुख दलका केही सांसदले यस विषयमा तत्काल अनुसन्धान गर्न माग गरेका छन् ।

अमेरिकी नागरिक रिहा

पुटिन र विट्कफबीच वार्ता सुरु हुनुअघि रुसले ७४ वर्षीय अमेरिकी नागरिक स्टेफन हबर्डलाई रिहा गरेको थियो । युक्रेनको पक्षबाट लडेको आरोपमा उनलाई करिब सात वर्षको जेल सजाय सुनाइएको थियो ।

ट्रम्पले हबर्ड घर फर्किरहेको र उनको रिहाइका लागि कुनै कैदी साटफेर आवश्यक नपरेको बताएका छन् । विट्कफले हबर्डको रिहाइका लागि सहमति दिएको भन्दै पुटिनलाई ‘मानवीय’ व्यक्तिका रूपमा वर्णन गरेका थिए ।

बीबीसीका एक पत्रकारले उक्त वर्णनसँग सहमत हुनुहुन्छ भन्ने प्रश्न गर्दा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकी नागरिकलाई परिवारसँग पुनर्मिलन गराउन कूटनीतिज्ञले सकारात्मक भाषा प्रयोग गर्नु स्वाभाविक भएको जवाफ दिएका थिए ।

सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको थियो । हाल रुसको नियन्त्रणमा युक्रेनी भूभागको करिब २० प्रतिशत क्षेत्र रहेको छ । ट्रम्पले पटकपटक युद्ध अन्त्य गर्न सक्ने बताउँदै आए पनि अहिलेसम्म युद्ध रोक्ने सहमति हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । साउदी अरबको नागरिक उड्डयन प्राधिकरण (जीएसीए) ले बुधबार जारी गरेको विज्ञप्तिअनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । सबै घाइतेलाई उपचारका लागि अस्पताल लगिएको प्राधिकरणले जनाएको छ । यसअघि बुधबार नै साउदी अरबको हवाई ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो दोस्रो कार्यकालमा हालसम्म ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द गरेको छ। सङ्घीय सरकारले तीव्र बनाएको अध्यागमन सम्बन्धी कडा नीतिका बीच विदेश मन्त्रालयले मंगलबार यसको जानकारी दिएको हो। सार्वजनिक गरिएको तथ्यांकले पछिल्ला हप्ताहरूमा भिसा रद्द गर्ने क्रम थप तीव्र बनेको देखाउँछ। यसअघि गत साउन २५ ९अगस्ट १०० मा मन्त्रालयले सन् ...
। बेलायती सांसद रूपर्ट लोवले बङ्गलादेशी, पाकिस्तानी र भारतीय नागरिकहरूलाई बेलायतमा सरकारी सुविधा दिन नहुने बताएका छन्। उनले यसको कडा विरोध गरेका छन्। रूपर्टले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हाम्रो देशमा कुनै पनि बङ्गलादेशी, पाकिस्तानी वा भारतीय नागरिकले सरकारी लाभको दाबी गर्नु हुँदैन। एक पैसा पनि दिनु हुँदैन।’ यसअघि मे महिनामा पनि लोवले भारत र पाकिस्तानबाट मानिसहरू ...
। पाकिस्तान र इरानबिचका प्रमुख सीमा चौकीहरूबाट हुने व्यापार लगातार चौथो दिन पनि पूर्ण रूपमा बन्द रहेको छ। यसअघि गत अक्टोबर १७ देखि अनिश्चितकालका लागि बन्द गरिएका यी सीमाहरू बन्द हुँदा बलूचिस्तानको बाटो भएर हुने दुई छिमेकी देशबीचको व्यापारिक गतिविधि ठप्प भएको छ भने सीमाका दुवैतर्फ सामानले भरिएका सयौँ कन्टेनरहरू अलपत्र परेका छन्। सीमा बन्द हुनुका ...
। अमेरिकी अर्बपति इलन मस्कले आफ्ना दुई प्रमुख कम्पनी टेस्ला र स्पेसएक्सलाई गाभ्ने तयारी गरेका छन् । त्यसका लागि दुवै कम्पनीमा विशेष समिति गठन गरिएको छ । मंगलबार स्पेसएक्सको त्रैमासिक व्यावसायिक नतिजाबारे वित्तीय विश्लेषकहरूसँग भएको छलफलका क्रममा मस्कले टेस्ला र स्पेसएक्सबीचको सम्भावित एकीकरणबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । यद्यपि, उनले कम्पनी गाभ्ने निर्णय भइसकेको अर्थमा बुझ्न ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम