। राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी पर्वले पारिवारिक आत्मीयता, आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
विजया दशमी, २०८३ का अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु-स्वास्थ्य र समृद्धिको कामना गरेका छन्।
उनले विजया दशमीका दिन दुर्गा भवानीको पूजाअर्चना गरी गुरु, पुरोहित तथा मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले पर्वको महत्त्व बढाएको उल्लेख गरेका छन्।
विजया दशमीमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वतःस्फूर्त रूपमा अभिव्यक्त हुने गरेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस पर्वको मौलिक सांस्कृतिक परम्पराले पारिवारिक आत्मीयता, आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले विजया दशमीले सम्पूर्ण नेपालीको सुख, शान्ति र कल्याणका साथै राष्ट्रको स्थायित्व, सुशासन, विकास र समृद्धिका लागि योगदान पुगोस् भन्दै नवदुर्गा भवानीसँग प्रार्थनासमेत गरेका छन्।