— अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका १०३ जना प्रतिवादीलाई पर्सा प्रहरीले एक महिनामा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले गत असोज महिनामा सञ्चालन गरेको फैसला कार्यान्वयन अभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांकअनुसार, पक्राउ परेका प्रतिवादीको हकमा कुल ४० वर्ष ११ महिना १२ दिन कैद सजाय र २ करोड ७१ लाख ७९ हजार १२ हजार ४ सय ४२ रुपैया जरिवाना कार्यान्वयन गर्नुपर्ने देखिएको छ । प्रहरीले अदालतबाट भएका फैसला कार्यान्वयनलाई प्राथमिकता दिँदै फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियान सञ्चालन गरेको जनाएको छ ।
अदालतबाट फैसला भए पनि कैद सजाय भुक्तान नगरेका र जरिवाना नतिरेका प्रतिवादी लामो समयसम्म फरार रहँदा न्यायिक प्रक्रिया पूर्ण रूपमा कार्यान्वयन हुन नसक्ने भएकाले उनीहरूलाई पक्राउ गरी कानुनी प्रक्रियामा ल्याइएको प्रहरीले जनाएको छ । पक्राउ परेका प्रतिवादीको हकमा अदालतको फैसला र कानुनी व्यवस्थाअनुसार कैद तथा जरिवाना असुलउपर गर्ने प्रक्रिया अघि बढाइनेछ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरीले फरार प्रतिवादीको खोजी तथा पक्राउलाई प्राथमिकतामा राखेको बताए । अदालतबाट दोषी ठहर भएका व्यक्तिले सजाय भुक्तान नगरी उन्मुक्ति पाउने अवस्था अन्त्य गर्न फैसला कार्यान्वयन अभियान महत्त्वपूर्ण हुने प्रहरीको भनाइ छ ।
प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गराउने कार्यलाई निरन्तरता दिने जनाएको छ । कैद सजाय र जरिवानासम्बन्धी फैसला कार्यान्वयनले न्यायिक निर्णयको प्रभावकारिता बढाउनुका साथै कानुनको शासन कायम गर्न सहयोग पुग्ने डीएसपी मल्ल बताउँछन् ।