: नुवाकोटको विदुर नगरपालिका–४, बट्टार बजारमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएपछि स्थानीयवासी आन्दोलित भएका छन्। मृतक युवकका आफन्त तथा सर्वसाधारणले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने माग राख्दै मङ्गलबार सडकमार्ग अवरुद्ध बनाएका हुन्।
सोमबार बट्टारबजार संगमचोकस्थित भित्री सडकखण्डमा युनाइटेड आधारभूत विद्यालयनजिकै विद्युतीय गाडी र स्कुटर ठोक्किँदा स्कुटर चालक सोही ठाउँका ४४ वर्षीय नवराज दाहाल गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए।
हावाघरबाट संगमचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ९११२ नम्बरको विद्युतीय माइक्रोबस र संगमचोकबाट हावाघरतर्फ जाँदै गरेको दाहालले चलाएको बा.३८प ३२४३ नम्बरको स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनापछि स्कुटर चालक दाहालको मृत्यु भएकाले दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै सडक अवरुद्ध गरिएको हो। पीडित पक्ष र सम्बन्धित पक्षबीच छलफल भए पनि सहमति हुन नसकेको विदुर–४ का वडाध्यक्ष नीलमबाबु ढुङ्गेलले जानकारी दिए।
सडक बन्द गरिएपछि सर्वसाधारणलाई असहज भएको छ। मृतक दाहाललाई न्याय दिलाउन माग गर्दै बट्टारमा सडक अवरुद्ध गरिएको आफन्तले जनाएका छन्। मृतक दाहालका आफन्तहरूले दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै बट्टार बजार क्षेत्रमा सडक अवरुद्ध गरेका हुन्। सडक अवरुद्ध हुँदा सवारीसाधनको आवागमन प्रभावित बनेको छ।
चाडपर्वको समयमा गन्तव्यतर्फ आवतजावत गरिरहेका यात्रुहरूले सास्ती खेप्नुपरेको छ। पीडित परिवारको माग सम्बोधन गर्दै सर्वसाधारणको आवागमन सहज बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ।