— वर्षौंदेखि विस्तार हुन नसकेर अलपत्र रुपन्देहीको मर्चवारस्थित मुख्य सडकलाई चार लेनमा निर्माण गरिने भएको छ । संघीय पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले उक्त सडकको अवलोकन गर्दै छिट्टै चार लेनमा विस्तार गरिने प्रतिबद्धता जनाएका हुन् ।
रुपन्देहीको पिछडिएको मर्चवारको स्थलगत अनुगमनका क्रममा उनले मुख्य सडक विस्तारसँगै ग्रामीण सडक निर्माण र स्तरीय अस्पताल स्थापनाका लागि बजेट व्यवस्थापन गर्ने जनाएका हुन् ।
रुपन्देही क्षेत्र नम्बर ४ का सांसद कन्हैया बनियाँको आग्रहमा मन्त्री लम्सालले मर्चवार भ्रमणका साथै प्रसिद्ध शक्तिपीठ मर्चवारी माई मन्दिरमा पूजाआजा गरेका थिए । मन्त्री लम्सालसँगै रुपन्देही क्षेत्र नम्बर २ का सांसद सुलभ खरेल र क्षेत्र नम्बर ५ का सांसद तौफिक अहमद खानले पनि ग्रामीण क्षेत्रको स्थलगत अनुगमन गरेका थिए ।
मन्दिर दर्शनपछि मन्त्रीसहितका सांसदले मर्चवार क्षेत्रको स्थलगत अवलोकन गर्दै स्थानीय पूर्वाधारको अवस्था र विकासका आवश्यकताबारे जानकारी लिएका थिए । त्यस क्रममा स्थानीय बासिन्दाले सडक, अस्पताल, स्वास्थ्य चौकी तथा विद्यालयको स्तरोन्नतिलगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।
मन्त्री लम्सालले चालु आर्थिक वर्षको बजेटबाट दुईवटा खण्डमा चार लेन सडक विस्तार गर्ने योजना अघि बढाइएको जानकारी दिए । उनका अनुसार पहिलो खण्डअन्तर्गत ५ किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । उक्त खण्डको निर्माणका लागि तत्काल टेन्डर प्रक्रिया अघि बढाइनेछ ।
पहिलो खण्डकै बाँकी १५ किलोमिटर सडकको डीपीआर तयार गरी टेन्डर प्रक्रियामा लैजाने तयारी भइरहेको उनले बताए । दोस्रो खण्डमा केही ढिलाइ भए पनि चालु आर्थिक वर्षको अन्त्यसम्म टेन्डर आह्वान गर्ने योजना रहेको उनको भनाइ छ ।
सडक विस्तारले मर्चवार क्षेत्रको आवागमन सहज बनाउनुका साथै स्थानीय उत्पादनको बजारीकरण, व्यापारिक गतिविधि र समग्र आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मर्चवारको धार्मिक तथा पर्यटकीय सम्भावनालाई ध्यानमा राख्दै मर्चवारी माई मन्दिरसम्म पुग्ने सडक निर्माणलाई पनि प्राथमिकता दिइने मन्त्री लम्सालले बताए । मन्दिरसम्म पुग्ने बाटो र त्यसलाई जोड्ने सडकहरू चालु वर्षभित्र निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए ।
यसका अतिरिक्त मुख्य सडक तथा गाउँगाउँसम्म पुग्ने ग्रामीण सडकहरूको निर्माण र स्तरोन्नतिका लागि पनि बजेट व्यवस्थापन गरिएको उनले बताए ।
मन्त्री लम्सालले मर्चवार क्षेत्रको विकासका लागि सडक, स्वास्थ्य र शिक्षालाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । स्थानीय आवश्यकताको पहिचान गरी योजनाबद्ध ढंगले बजेट व्यवस्थापन र निर्माणका काम अघि बढाइने उनले बताए ।
सांसद कन्हैया बनियाँले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतका सबै गाउँपालिकामा मन्त्रीको उपस्थितिमा विकास निर्माणका गतिविधि तथा स्थानीय आवश्यकताबारे अवलोकन गरिएको जानकारी दिए ।