: मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका–१०, बुद्धचोक निवासी ४२ वर्षीय विनोद लामाको सोमबार दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए।
उनका अनुसार हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको खुर्सानी बोकेको पिकअप गाडी र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल घाइते भएका चालक लामालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले साँझ ५:१० बजे उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा परेका बा.प्र.०१–०३२ च ०१४१ नम्बरको पिकअप र बा.४७ प ८४६१ नम्बरको मोटरसाइकल र पिकअप चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।