: झापाको बाह्रदशी गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का एक वृद्ध घाइते भएका छन्।
जङ्गली हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता बजारकी ७० वर्षीया लजमा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार आज बिहान करिब ५:४० बजे राजगढ–घेराबारी सडक खण्डअन्तर्गत जनता चोकको दक्षिणतर्फ हात्तीको आक्रमणबाट खातुन गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
त्यसअघि बिहान करिब ५ बजे सोही गाउँपालिका–२ चैतनियाबारी निवासी ७३ वर्षीय झप्टु राजवंशी पनि जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएका थिए। ‘मर्निङ वाक’मा निस्किएका राजवंशीलाई खाडी गाउँमा दुईवटा हात्तीले आक्रमण गरेका थिए। हात्तीको आक्रमणबाट उनको खुट्टामा चोट लागेको छ।
उनलाई उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको छ। स्थानीयका अनुसार राजवंशीलाई आक्रमण गरेपछि तिनै हात्तीले खातुनमाथि आक्रमण गरेका थिए। यस घटनापछि स्थानीयबासीमा हात्तीको त्रास बढेको छ।