: दसैंको मौका छोपेर धनकुटाबाट सुनसरी हुँदै भारततर्फ प्रतिबन्धित लागुऔषध गाँजाको तस्करी भइरहेको पाइएको छ। तस्करहरूले धनकुटाका विभिन्न स्थानबाट गाँजा संकलन गरी सुनसरीका विभिन्न नाका र सडकमार्ग प्रयोग गर्दै भारततर्फ लैजाने गरेको पाइएको हो। चाडपर्वको समयमा सुरक्षा निकायको व्यस्तताको फाइदा उठाउँदै तस्करहरूले गाँजा ओसारपसारलाई तीव्रता दिएको स्थानीयको भनाइ छ।
स्थानीयका अनुसार धनकुटाको शहिदभूमी, मुलघाट, भेडेटार, आहाले र महाभारत क्षेत्रबाट गाँजा संकलन गरी विभिन्न मार्ग हुँदै सुनसरीतर्फ ल्याउने गरिएको छ। गाजा तस्करीमा धनकुटा प्रहरीको मिलेमतो रहेको स्थानीयले बताएका छन्।
सुनसरी प्रहरीले भने गाँजा तस्करी नियन्त्रणका लागि सक्रियता बढाएको छ। घटस्थापनाको दिन असोज २५ गतेदेखि नवमीसम्म सुनसरीका विभिन्न स्थानबाट एक हजार ५ सय ४५ किलो गाँजा बरामद गरिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पुष्पराज मल्लले जानकारी दिएका छन्। उनका अनुसार गाँजा तस्करीमा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरिएको छ भने एम्बुलेन्ससहित तीनवटा सवारीसाधन नियन्त्रणमा लिइएको छ।
धनकुटाबाट सुनसरी हुँदै भारततर्फ गाँजा तस्करी गर्न तस्करहरूले फरक–फरक सडक तथा नाका प्रयोग गर्ने गरेका छन्। भेडेटार हुँदै धरान, आहाले हुँदै विष्णुपादुका तथा महाभारत हुँदै बराहक्षेत्रका नाका प्रयोग गरी गाँजा ओसारपसार हुने गरेको स्थानीयको भनाइ छ। सुनसरीका विभिन्न स्थानमा प्रहरीले निगरानी बढाएपछि तस्करीमा संलग्न सवारीसाधन र गाँजा बरामद हुने क्रम बढेको सुनसरी प्रहरीले बताएको छ।
गाँजा नियन्त्रण अभियानमा सुनसरी प्रहरी सक्रिय भए पनि तस्करहरूका कारण सुरक्षा चुनौती थपिएको एसपी मल्लले बताए। तस्करीमा संलग्न व्यक्तिहरूले सवारीसाधन तीव्र गतिमा चलाउने, प्रहरी पोस्टमा क्षति पुर्याउने तथा अन्य दुर्घटना निम्त्याउन सक्ने जोखिम रहेको उनको भनाई छ। यसले सडकमा खटिएका प्रहरी कर्मचारीको सुरक्षासमेत जोखिममा परेको प्रहरीको भनाइ छ।
पछिल्लो समय गाँजा खेतीबाट बढी आम्दानी हुने आशामा धनकुटाका केही किसान परम्परागत खेती छाडेर गाँजा खेतीतर्फ आकर्षित भएको स्थानीयले बताएका छन्। किसानले उत्पादन गरेको गाँजा तस्करहरूले खरिद गरी विभिन्न मार्गबाट सुनसरी हुँदै भारततर्फ पुर्याउने गरेको बताइएको छ। यस विषयमा गाँजा खेतीको वास्तविक अवस्था, उत्पादनको परिमाण र तस्करीमा संलग्न सञ्जालबारे थप अनुसन्धान गर्न अति आवश्यक देखिएको स्थानीयले माग गरेका छन्।