मुख्य समाचार
तीन छुट्टाछुट्टै कम्पनीमा विभाजन गर्ने गरी अघि बढाइएको पुनर्संरचनाको काम अन्तिम चरणमा
तीन छुट्टाछुट्टै कम्पनीमा विभाजन गर्ने गरी अघि बढाइएको पुनर्संरचनाको काम अन्तिम चरणमा

। नेपाल विद्युत् प्राधिकरणलाई तीन छुट्टाछुट्टै कम्पनीमा विभाजन गर्ने गरी अघि बढाइएको पुनर्संरचनाको काम अन्तिम चरणमा पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्राधिकरणको संरचनात्मक सुधारका लागि तयार पारिरहेको रोडम्यापलाई अन्तिम रूप दिने काम गरिरहेको छ ।

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत लामो समयदेखि चर्चामा रहेको प्राधिकरणको पुनर्संरचना सम्पन्न गर्ने घोषणा गरेको थियो । बजेटमा प्राधिकरणलाई विद्युत् उत्पादन, प्रसारण तथा वितरण र व्यापारका लागि तीन छुट्टाछुट्टै कम्पनीमा विभाजन गर्ने उल्लेख छ ।

सोही घोषणाअनुसार मन्त्रालयको ऊर्जा महाशाखा प्रमुखको संयोजकत्वमा गठित समितिले पुनर्संरचनाको खाका तयार पारिरहेको छ । मन्त्रालयको पछिल्लो प्रगतिविवरणअनुसार समितिले विभिन्न अन्तर्राष्ट्रिय मोडेल र अभ्यासबारे छलफल गर्दै रोडम्यापलाई अन्तिम रूप दिने काम गरिरहेको छ ।

प्राधिकरणको उत्पादन, प्रसारण र वितरण तथा व्यापारसम्बन्धी कार्यलाई छुट्टाछुट्टै संस्थागत संरचनामा लैजाने प्रक्रिया अघि बढाउँदै आएको छ । यसअन्तर्गत हाल एउटै संस्थामार्फत सञ्चालन हुँदै आएका विभिन्न व्यावसायिक कार्यलाई अलग गरी तिनको जिम्मेवारी, सञ्चालन र व्यवस्थापनलाई स्पष्ट बनाउने लक्ष्य राखिएको छ ।

ऊर्जा मन्त्रालयले २०७४ सालदेखि नै अनबन्डलिङ प्रक्रिया थालेको थियो । यही प्रयोजनका लागि सरकारले विगतदेखि नै विद्युत् उत्पादन कम्पनी, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड, विद्युत् व्यापार कम्पनीजस्ता कम्पनी समेत स्थापना गरी सञ्चालनमा ल्याइसकेको छ । तर, सरकारले चालु आर्थिक वर्षभित्र प्राधिकरण खण्डीकरणको सम्पूर्ण कार्य सक्ने जनाएको हो । त्यसका लागि रोडम्याप निर्माणको कार्य अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।

ऊर्जा क्षेत्रका विज्ञहरूले भने प्राधिकरणका विषयमा कानुनी आधार, सम्पत्ति व्यवस्थापन र कर्मचारी समायोजन लगायतको विषयमा स्पष्ट खाकाविना पुनर्संरचना गर्दा नयाँ जटिलता सिर्जना हुन सक्ने चेतावनी दिदैं आएका छन् ।

एउटै प्राधिकरण, तीन फरक कम्पनी

प्रस्तावित पुनर्संरचनाअनुसार विद्युत् उत्पादनका लागि एउटा, प्रसारणका लागि अर्को र वितरण तथा व्यापारका लागि तेस्रो कम्पनी बनाउने सरकारको योजना छ । यसबाट विद्युत् उत्पादन, प्रसारण पूर्वाधार सञ्चालन, उपभोक्तासम्म विद्युत् वितरण र विद्युत् व्यापारका कामलाई छुट्टाछुट्टै संरचनाबाट अघि बढाउने बाटो खुल्नेछ ।

अहिले नेपाल विद्युत् प्राधिकरणले विद्युत् उत्पादन गर्ने, राष्ट्रिय प्रसारण प्रणाली सञ्चालन गर्ने, वितरण सञ्जालमार्फत उपभोक्तालाई विद्युत् उपलब्ध गराउने र विद्युत् खरिदबिक्री तथा व्यापारसम्बन्धी काम गर्दै आएको छ ।

यी कामलाई अलग–अलग कम्पनीमा विभाजन गर्दा प्रत्येक क्षेत्रको जिम्मेवारी, वित्तीय अवस्था र कार्यसम्पादन छुट्टाछुट्टै मूल्यांकन गर्न सकिने अपेक्षा गरिएको छ । तर, प्रस्तावित कम्पनीहरूको स्वामित्व संरचना, अधिकार क्षेत्र, सम्पत्ति तथा दायित्व बाँडफाँट र सञ्चालनको विस्तृत ढाँचा भने रोडम्यापले स्पष्ट पार्ने मन्त्रालयले जनाएको छ ।

बजेटमै पुनर्संरचना सम्पन्न गर्ने घोषणा

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा प्राधिकरणको पुनर्संरचना सम्पन्न गर्ने घोषणा गरेको थियो । त्यससँगै उत्पादन, प्रसारण र वितरण तथा व्यापारलाई तीन छुट्टाछुट्टै कम्पनीमा विभाजन गर्ने नीति अघि सारिएको हो ।

विद्युत् क्षेत्रको संरचनात्मक सुधारलाई सरकारले ऊर्जा क्षेत्रको अर्को महत्वपूर्ण नीतिगत कदमका रूपमा अघि बढाएको छ । यससँगै निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिने तथा प्रसारण लाइन निर्माण र ह्विलिङ चार्ज लिएर विद्युत् व्यापार गर्न सक्ने कानुनी व्यवस्था मिलाउने विषय पनि बजेटमा समेटिएको छ ।

प्राधिकरणको अनबण्डलिङले विद्युत् बजारको संरचना, निजी क्षेत्रको सहभागिता र विद्युत् व्यापारको व्यवस्थापनमा समेत प्रभाव पार्न सक्नेछ । यद्यपि, यसको वास्तविक कार्यान्वयनका लागि कम्पनीहरूको संरचना निर्धारण, कानुनी तथा प्रशासनिक व्यवस्था मिलाउने र संक्रमणकालीन व्यवस्थापन टुंग्याउनुपर्ने हुन्छ ।

अब रोडम्यापले तय गर्नेछ कार्यान्वयनको बाटो

मन्त्रालयको समितिले विभिन्न अन्तर्राष्ट्रिय मोडेलको अध्ययन र छलफलका आधारमा पुनर्संरचनाको रोडम्यापलाई अन्तिम रूप दिने काम गरिरहेको छ । त्यसैले अहिलेको मुख्य काम प्राधिकरणलाई कुन ढाँचामा र कसरी विभाजन गर्ने भन्ने विषयलाई स्पष्ट पार्नु हो ।

रोडम्यापमा कम्पनीहरूको कार्यक्षेत्र, संगठनात्मक संरचना, सम्पत्ति तथा दायित्वको बाँडफाँट, कर्मचारी व्यवस्थापन, वित्तीय व्यवस्थापन र कार्यान्वयनको समयतालिकाजस्ता विषय महत्वपूर्ण हुनेछन् ।

प्राधिकरणको पुनर्संरचना गर्ने घोषणा नयाँ नभए पनि यसपटक बजेटमा नै प्रक्रिया सम्पन्न गर्ने लक्ष्य राखिएपछि त्यसलाई कार्यान्वयनमा लैजाने तयारी अघि बढेको छ । मन्त्रालयले रोडम्यापलाई अन्तिम रूप दिएपछि त्यसका आधारमा प्राधिकरणको संस्थागत पुनर्संरचनाको प्रक्रिया अघि बढ्ने मन्त्रालयले जनाएको छ । तीन कम्पनीको गठन कहिलेसम्म सम्पन्न हुनेछ र हाल प्राधिकरणअन्तर्गत रहेका सम्पत्ति, ऋण, कर्मचारी तथा चालु आयोजनाको व्यवस्थापन कसरी गर्ने भन्ने विषय समेत रोडम्यापमार्फत हुने मन्त्रालयको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रा. डा. गोविन्द केसीले एक साताभित्र माग पूरा नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन्। उनले न्यूनतम पूर्वाधार र जनशक्तिबिनै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएस कार्यक्रम सञ्चालन गर्न दिएको अनुमति खारेज गर्न तथा आर्मी मेडिकल कलेजलगायत शिक्षण संस्थामा सिट वृद्धि गर्ने निर्णय बदर गर्न माग गरेका छन्। सोमबार विज्ञप्ति जारी गर्दै डा. ...
। पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ । यस रुटमा उडान भर्दै आएका निजी वायुसेवा कम्पनीहरुले यसवर्ष पर्यटकीय अनुकुल याम नसकिंदै हवाई उडान सेवा स्थगित गरेको जनाएको छ । मुस्ताङमा बर्सेनि दुई याममा निजी क्षेत्रका तारा एयरलाइन्स र समिट एयरलाइन्सका १८ सिटे जहाजहरुले पोखरा—जोमसोम हवाई सेवा सञ्चालन गर्दै आइरहेका छन् । जोमसोमस्थित नागरिक उड्ययन कार्यालयका ...
। नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । नेपाल –चीन जोड्ने ‘लाइफलाइन’ सो सडकखण्ड विगत तीन महिनादेखि अवरुद्ध भएको थियो । गत साउनमा भोटखोला गाउँपालिका २ स्थित छुम्सुरमा ठूला –ठूला चट्टानसहितको पहिरो खस्दा सो सडकमा पूर्ण रुपमा सवारी साधन आवत जावत गर्न अवरुद्ध भएको थियो । भोटखोला गाउँपालिका–२ छुमसुरमा खसेको ...
। दशैंको महाअष्ठमीको दोस्रो दिन सोमबार ललितपुर महानगरपालिकाको कुसुन्ती हाइटमा पुग्दा धमाधम आकशे पुल निर्माणको काम भइरहेको थियो । पुलका डिजाइनर विनोद न्यौपानेको टोलीले काम गरिरहेको थियो । यहाँ लिफ्टसहितको आकाशे पुल निर्माण भइरहेको छ । ‘यो अपाङ्गमैत्रीभन्दा पनि असक्षममैत्री हो । ज्येष्ठ नागरिक आउनुहुन्छ । पाटन अस्पताल नजिकै भएकाले बिरामीहरू आउनुहुन्छ’, न्यौपानेले भने, ‘उहाँहरूका लागि ...
। चितवनको नारायणगढ बजारस्थित शहीदचोकमा हालै जडान गरिएका ट्राफिक लाइटको केबल (तार) काटेर चोरी भएको छ । तार चोरी भएपछि ट्राफिक लाइटको परीक्षण कार्य प्रभावित भएको छ । केबल चोरी भएपछि ट्राफिक लाइट जडान गर्ने कम्पनीले प्रहरीमा उजुरी दिएको छ । नारायणगढको मुख्य चोकमै केबल काटेर चोरी गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । ट्राफिक लाइट जडानको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम