: गैरआवासीय नेपाली संघ (एनआरएनए )को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारमा आयोजना हुने भएको छ।
मध्यपूर्वमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या, चुनौती र अधिकारका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो। सहयात्राको मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको सम्मेलनको मूल नारा ‘सुरक्षित श्रम आप्रवासन, समृद्ध भविष्य, एनआरएनएको अभियान’ तय गरिएको छ। सम्मेलनले सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगारीको प्रवर्द्धनसँगै मध्यपूर्वमा रहेका नेपाली श्रमिकको हकहित संरक्षण, सामूहिक लगानी र नेपालको आर्थिक समृद्धिमा प्रवासी नेपालीको योगदान बढाउने विषयलाई प्राथमिकतामा राख्ने आयोजकले जनाएको छ।
श्रमिकका समस्या र अधिकार संरक्षणमा जोड
मध्यपूर्वका विभिन्न देशमा लाखौँ नेपाली रोजगारीका लागि कार्यरत छन्। उनीहरूले नेपालको अर्थतन्त्रमा रेमिट्यान्समार्फत महत्त्वपूर्ण योगदान पुर्याउँदै आए पनि रोजगारस्थलको सुरक्षा, श्रम अधिकार, पारिश्रमिक, करार सम्झौता, सामाजिक सुरक्षा, स्वास्थ्य तथा कार्यस्थलमा हुने विभिन्न समस्यासँग जुध्नुपर्ने अवस्था रहँदै आएको छ।यस्ता समस्या समाधानका लागि सम्बन्धित देशका सरकार, नेपाल सरकार, नेपाली राजदूतावास, श्रमसम्बन्धी निकाय तथा प्रवासी नेपालीका संघसंस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको सन्दर्भमा सम्मेलनलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
साथै सम्मेलनमा सुरक्षित श्रम आप्रवासनको सुनिश्चितता, वैदेशिक रोजगारीमा जाने नेपालीलाई सही सूचना र परामर्श उपलब्ध गराउने व्यवस्था, श्रमिकको अधिकार संरक्षण तथा समस्यामा परेका नेपालीलाई प्रभावकारी सहयोग पुर्याउने विषयमा छलफल हुने अपेक्षा समेत गरिएको छ। त्यसैगरी, विदेशमा कार्यरत नेपालीको सीप, अनुभव, पुँजी र ज्ञानलाई नेपालको विकाससँग जोड्ने, सामूहिक लगानीका सम्भावना विस्तार गर्ने तथा नेपाल फर्किएका श्रमिकको सीप र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने विषयले पनि प्राथमिकता पाउने अपेक्षा पनी गरिएको छ।
मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका वास्तविक समस्या पहिचान गरी तिनको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, विभिन्न देशमा रहेका नेपाली समुदायबीच सहकार्य विस्तार गर्ने तथा साझा एजेन्डामा एकरूपता कायम गर्ने विषयमा सम्मेलन केन्द्रित हुने अपेक्षा गरिएको छ। एनआरएनए मध्यपूर्वका अनुसार सम्मेलनको प्रमुख उद्देश्य प्रवासी नेपालीको हकहित संरक्षण, सुरक्षित श्रम आप्रवासनको सुनिश्चितता र मध्यपूर्वमा रहेका नेपाली समुदायका साझा मुद्दामा एकीकृत दृष्टिकोण निर्माण गर्नु हो।
सम्मेलनले छलफल र अनुभव आदानप्रदानमा मात्र सीमित नभई श्रमिकका समस्या समाधानका लागि ठोस कार्ययोजना, संस्थागत समन्वय र दीर्घकालीन प्रतिबद्धता निर्माणमा योगदान पुर्याउने अपेक्षा छ।विशेषगरी, वैदेशिक रोजगारीलाई सुरक्षित र सम्मानजनक बनाउने, श्रमिकमाथि हुने शोषण तथा अन्याय न्यूनीकरणका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने र समस्यामा परेका नेपालीलाई समयमै सहयोग उपलब्ध गराउने विषयमा प्रभावकारी पहल आवश्यक देखिन्छ भने मध्यपूर्वमा रहेका नेपाली संघसंस्थाबीच आपसी सहकार्य र एकता मजबुत बनाउँदै प्रवासी नेपालीको आर्थिक, सामाजिक तथा बौद्धिक योगदानलाई नेपालको समृद्धिसँग जोड्ने विषय पनि सम्मेलनको महत्त्वपूर्ण पक्ष बन्नेछ।
एनआरएनएको मध्यपूर्व क्षेत्रीय सम्मेलन यसअघि आठौँ संस्करणका रूपमा ओमनमा २८ देखि ३० जुन २०२३ सम्म आयोजना गरिएको थियो। त्यसैको निरन्तरताका रूपमा आयोजना हुन लागेको नवौँ सम्मेलनले अघिल्ला सम्मेलनबाट उठाइएका मुद्दाको समीक्षा गर्दै आगामी दिनका लागि नयाँ प्राथमिकता र कार्यदिशा तय गर्ने अवसर प्रदान गर्ने अपेक्षा समेत गरिएको छ।
मध्यपूर्वमा रहेका नेपाली श्रमिकका साझा समस्या प्रायः विभिन्न देशमा समान प्रकृतिका हुने भएकाले तिनको समाधानका लागि क्षेत्रीय तहमा सहकार्य, अनुभव आदानप्रदान र साझा पहल आवश्यक मानिन्छ। यस दृष्टिले कतारमा हुन लागेको सम्मेलनलाई मध्यपूर्वका नेपाली समुदायबीच सहकार्य विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
आयोजक एनआरएनए कतारले सम्मेलनलाई सफल उपलब्धिमूलक र ऐतिहासिक बनाउन सबै सरोकारवालाको सक्रिय सहभागिता, रचनात्मक सुझाव र ऐक्यबद्धताका लागि अपिल गरेको छ।सम्मेलनको थप तयारी, व्यवस्थापन, छलफलका विषय तथा अन्य कार्यक्रमसम्बन्धी विस्तृत जानकारी आगामी दिनमा सार्वजनिक गरिने बताइएको छ।
मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको हकहित, सुरक्षित वैदेशिक रोजगारी र नेपालको समृद्धिमा प्रवासी नेपालीको योगदानजस्ता महत्त्वपूर्ण विषयमा हुने छलफलले व्यवहारिक निष्कर्ष र कार्यान्वयनयोग्य योजना निर्माण गर्न सके सम्मेलनको सार्थकता अझ बढ्नेछ भने आयोजकका अनुसार सम्मेलनमा नेपाल सरकारका पदाधिकारी, सम्बन्धित सरकारी निकायका प्रतिनिधि, विभिन्न देशमा कार्यरत नेपाली राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधि, एनआरएनएका केन्द्रीय पदाधिकारी, मध्यपूर्वका विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी)का प्रतिनिधि, सामाजिक अभियन्ता, मिडियाकर्मी तथा नेपाली श्रमिकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ भने कतारस्थित नेपाली राजदूतावासका प्रतिनिधि तथा विभिन्न देशमा रहेका एनआरएनए अभियन्ता, अग्रज र शुभचिन्तकहरूको उपस्थितिले सम्मेलनलाई थप अर्थपूर्ण बनाउने विश्वास आयोजकको छ।