: कञ्चनपुरमा लागुऔषध खैरो हिरोइनसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१८ का ३३ वर्षीय राज चौधरीको दिसाबाट १०.४२ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा उनलाई भीमदत्त नगरपालिका–९ स्थित जिरो प्वाइन्टबाट नियन्त्रणमा लिएको थियो।
त्यसपछि महाकाली प्रादेशिक अस्पतालको निगरानीमा राखिएका चौधरीले आज बिहान ६:३० बजे दिसा गर्ने क्रममा कालो प्लास्टिकभित्र चार पुडियामा रहेको खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।
बरामद लागुऔषधबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।