: बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा राजस्थानको कोटा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको दाबी गरेको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि मुम्बई प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
राजस्थान प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जनाको सम्बन्ध अनिल पण्डित नाम गरेका व्यक्तिसँग रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अनिल पण्डित लरेन्स बिश्नोई ग्याङसँग सम्बन्धित रहेको बताइएको छ। यद्यपि, पक्राउ परेकाहरूबाट प्रहरीले हालसम्म कुनै हतियार बरामद गरेको छैन।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना नाबालिग छन् भने अन्य दुई जना हरियाणाको सोनीपत र बिहारका रहेको बताइएको छ। कोटाकी प्रहरी उपरीक्षक तेजस्विनी गौतमले पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी दिएकी हुन्।
उनका अनुसार सोमबार बिहान मुम्बईका डीसीपी क्राइमबाट टाइगर श्राफमाथि गोली प्रहार गर्ने तीनै जना अभियुक्त रेलमा यात्रा गरिरहेको र केही समयमै कोटा पुग्ने सूचना प्राप्त भएको थियो।
सूचना प्राप्त हुनासाथ कोटा प्रहरीले कारबाही अघि बढाएको र १५ मिनेटभित्रै रेलबाट तीनै जनालाई नियन्त्रणमा लिएको गौतमले बताइन्। मुम्बई प्रहरीको टोली कोटा पुगिसकेको र आवश्यक प्रक्रिया पूरा गरेपछि अभियुक्तहरूलाई उसको जिम्मा लगाइने उनले जानकारी दिइन्।
प्रहरीका अनुसार पक्राउ परेका रेहान अन्सारी हरियाणाको सोनीपतका बासिन्दा हुन् भने ऋतिक बिहारको बेगुसरायका हुन्। ऋतिक केही वर्षदेखि मुम्बईमा बस्दै आएको बताइएको छ। उनीहरूसँगै एक नाबालिगलाई पनि नियन्त्रणमा लिइएको छ।
नेपाल भाग्ने योजना बनाएको प्रहरीको दाबी
कोटा प्रहरीका अनुसार अभियुक्तहरू पुणेबाट जयपुर जाने रेलको सामान्य डब्बामा सवार थिए। गोली प्रहार गरेलगत्तै उनीहरू रेल चढेर जयपुरतर्फ लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार उनीहरूको योजना जयपुरबाट बसमार्फत दिल्ली पुग्ने र त्यसपछि नेपाल भाग्ने रहेको थियो।
प्रारम्भिक सोधपुछका क्रममा अभियुक्तहरूले अनिल पण्डित लरेन्स ग्याङसँग आबद्ध रहेको र रेहान उनीसँग सम्पर्कमा आएको बताएका छन्। त्यसपछि रेहानले सोनीपतका एक नाबालिगलाई साथमा लिएर मुम्बई गई गोली प्रहार गरेको प्रहरीको भनाइ छ।
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले टाइगर श्राफमाथि गोली प्रहारको घटनामा तीन जना अभियुक्त पक्राउ परेको पुष्टि गरेका छन्।
उनका अनुसार गोली प्रहारपछि तीनै जना मुम्बईबाट भागेका थिए। उनीहरूले सूरतबाट जयपुर जाने रेल चढेका थिए। उनीहरू जयपुरतर्फ गइरहेको जानकारी पाएपछि मुम्बई प्रहरीले उनीहरूलाई पछ्याउँदै राजस्थान प्रहरीसँग समन्वय गरेको थियो। त्यसपछि राजस्थान प्रहरीको सहयोगमा कोटामा उनीहरूलाई पक्राउ गरिएको फडणवीसले बताए।
अभियुक्तहरूलाई मुम्बई ल्याएपछि थप अनुसन्धान गरिने उल्लेख गर्दै उनले प्रहरीले तीव्र गतिमा कारबाही गरेको बताए। घटनाको वास्तविकतासम्म नपुगेसम्म मुम्बई प्रहरी नरोकिने उनको भनाइ छ।
टाइगर श्राफमाथि भएको गोली प्रहारको जिम्मेवारी बिश्नोई ग्याङले लिएको भन्ने चर्चाबारे सोधिएको प्रश्नमा मुख्यमन्त्री फडणवीसले यस्ता ग्याङसँग डराउन आवश्यक नरहेको बताए। उनले भने, 'यस्ता ग्याङसँग डराउनुपर्ने आवश्यकता छैन। यो कायरहरूको काम हो। उनीहरू आफैँ कतै लुकेर बस्छन् र त्यहीँबाट धम्की दिइरहन्छन्।'
यस्ता धम्कीलाई सरकारले गम्भीरतापूर्वक लिने र आवश्यक कारबाही गर्ने उनले स्पष्ट पारे। अपराधी पक्राउ नपरेसम्म मुम्बई प्रहरी नरोकिने पनि उनले बताए। लरेन्स बिश्नोईलाई हिरासतमा लिने प्रयासबारे सोधिएको प्रश्नमा फडणवीसले प्रहरीले त्यसका लागि प्रक्रिया सुरु गरिसकेको र कारबाही अघि बढिरहेको जानकारी दिए। अपराधका मुख्य योजनाकार जहाँ भए पनि उनीहरूमाथि कारबाही गरिने उनको भनाइ छ।
बलिउड अभिनेता टाइगर श्राफको कारमा आइतबार साँझ मुम्बईमा अज्ञात व्यक्तिहरूले गोली प्रहार गरेका थिए। घटनामा उनका चालकसहित दुई जना घाइते भएको मुम्बई प्रहरीले जनाएको छ।
बीबीसी मराठीका अनुसार मुम्बईको विले पार्ले पश्चिम क्षेत्रमा, जुहू प्रहरी वृत्तको कार्यक्षेत्रभित्र गोली प्रहारको घटना भएको थियो। मुम्बईको वेस्ट जोन-२ का प्रहरी उपायुक्त मोहित गर्गले घटनाको पुष्टि गरेका थिए।
गोली लागेर टाइगर श्रfफका चालक फिरदौसको बायाँ हातमा चोट लागेको बताइएको छ। प्रहरीका अनुसार घटनामा दुई जना घाइते भएका थिए। प्रहरी उपायुक्त गर्गले टाइगर श्राफ सुरक्षित रहेको र उनलाई गोली नलागेको स्पष्ट पारेका थिए।
उनका अनुसार आइतबार साँझ करिब ७ बजे घटना भएको थियो। प्रारम्भिक जानकारीअनुसार टाइगर श्राफ कुनै निजी कामका लागि त्यहाँ पुगेका थिए। काम सकेर फर्किने क्रममा उनी सवार कारमाथि गोली प्रहार भएको थियो।