: नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा निर्वाचित भएपछि आफूले भिन्नै अनुभूति गरेको बताएका छन्। शनिबार शपथ ग्रहण पछि सभापति थापाले विगतमा विभिन्न संघर्ष गर्दै,लड्दै र जुझ्दै यहाँसम्म आइपुगेको उल्लेख गर्दै उनले पद प्राप्त गर्नुलाई आफ्नो यात्राको मूल उद्देश्यका रूपमा नलिएको स्पष्ट पारे।
‘पदहरू भनेको काम गर्ने क्रममा जोडिएर आउने कुरा हुन्। यो पदको जिम्मेवारी लिन्छु भनेर सुरु गरेको यात्रा होइन,'उनले भने।
सभापति थापाले शपथ ग्रहणलाई केवल औपचारिकताका रूपमा लिन नहुने धारणा राखे। शपथका क्रममा व्यक्त गरिएका प्रतिबद्धताको वास्तविक परीक्षण आगामी यात्रामा हुने उनको भनाइ छ। विशेषगरी कठिन परिस्थितिमा आफूले लिने निर्णय र निर्वाह गर्ने भूमिकाले प्रतिबद्धताको मूल्यांकन हुने उनले बताए।
‘शपथमा जे बोलें,जे भनें,त्यसको परीक्षण अगाडिको यात्राले बताउनेछ। गाह्रो समयमा मैले निर्णय कसरी लिन्छु भन्ने कुराबाट नै बोलेका कुराको परीक्षण हुन्छ,'सभापति थापाले भने।
उनले नेपाली कांग्रेसको सभापतिको जिम्मेवारीलाई व्यक्तिगत पद,प्रतिष्ठा वा अहंकारका रूपमा बुझ्न नहुनेमा जोड दिए। यो जिम्मेवारी पार्टीका संस्थापक तथा अग्रज नेताहरूले अघि बढाएको राजनीतिक विरासतसँग जोडिएको उल्लेख गर्दै उनले सभापतिको भूमिका नागरिकप्रतिको दायित्व पूरा गर्न केन्द्रित हुनुपर्ने बताए।
थापाले बीपी कोइराला,गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायतका नेताहरूले निर्वाह गरेको ऐतिहासिक जिम्मेवारीको स्मरण गर्दै आफूले पाएको जिम्मेवारीलाई त्यही विरासतसँग जोडेर हेरेको बताए।
'नेपाली कांग्रेसको सभापतिको जिम्मेवारी सामान्य होइन। वीपी,गणेशमान,किसुनजी, गिरिजाप्रसाद कोइरालालगायतले लिनुभएको जिम्मेवारी हो। यो अहंकारको श्रीपेच पनि होइन। यो जिम्मेवारी भनेको नागरिकको जिम्मेवारी पूरा गर्नका लागि भूमिका दिएको हो। पार्टीको विरासत जोगाउने जिम्मेवारी हो,'उनले भने।