: हिन्दु धर्मावलम्बीहरूको प्रमुख चाड बडादसैं र तिहार नजिकिँदै गर्दा खाडी देशहरूमा कार्यरत नेपालीहरू घर फर्कन थालेका छन्। वर्षभरि परिवारबाट टाढा रहेर काम गर्ने उनीहरूका लागि चाडपर्व आफन्तसँग भेटघाट गर्ने र पारिवारिक खुसी साटासाट गर्ने अवसर हो। तर हवाई टिकटको महँगो मूल्यका कारण धेरै नेपालीको घरफिर्ती योजना खर्चिलो बनेको छ।
यूएईमा कार्यरत सुमन मुखिया तीन वर्षपछि नेपाल फर्कंदै छन्। उनले करिब दुई हजार दिराम अर्थात् ८२ हजार रुपैयाँ खर्चेर टिकट किनेका छन्। कम्पनीले दुईतर्फी हवाई टिकटबापत दिने रकम एक हजार दिराम अर्थात् करिब ४२ हजार रुपैयाँ रहेको उनले बताए।
सामान्य अवस्थामा करिब ६ सय दिराम अर्थात् २५ हजार रुपैयाँ पर्ने दुबई–काठमाडौंको एकतर्फी टिकटमा तीन गुणाभन्दा बढी खर्च गरेर उनी घर फर्कन लागेका हुन्। कम्पनीबाट पाउने वार्षिक ३० दिनको बिदा मिलाएर दसैं र तिहार परिवारसँग मनाउने उनको योजना छ। ‘अहिले घर (नेपाल) जाँदा र पछि घरबाट फर्कंदा टिकट महँगो पर्छ,’ उनले भने।
संयुक्त अरब इमिरेट्स (यूएई) बाट मात्र दैनिक १२ देखि १५ वटासम्म सीधा उडान हुने गरेको ट्राभल व्यवसायी ठाकुर ढुंगाना बताउँछन्। उनका अनुसार ती उडानमार्फत दैनिक दुई हजारभन्दा बढी नेपाली नेपाल फर्कने गरेका छन्। यसबाहेक अन्य देशका विमानमार्फत भारत हुँदै नेपाल पुग्ने यात्रुको संख्या पनि उल्लेख्य छ।
ट्राभल व्यवसायीका अनुसार दसैं–तिहार मनाउन यूएईबाट मात्रै हरेक वर्ष ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्कने गरेका छन्। कतार, साउदी अरब, ओमान, बहराइन र कुवेतमा कार्यरत नेपालीहरू पनि चाडपर्व मनाउन घर फर्कने क्रम बढेको छ।
विदेशमा कमाएको पैसाले परिवारको खर्च धान्ने र भविष्यका लागि बचत गर्ने जिम्मेवारी बोकेका श्रमिकका लागि घर फर्कनु केवल यात्राको विषय होइन। दसैंमा आमाबुबाको हातबाट टीका लगाउनु, परिवारसँग बसेर खानु र तिहारमा दाजुभाइ तथा दिदीबहिनीसँग खुसी साट्नु उनीहरूका लागि भावनात्मक महत्व बोकेको अवसर हो।
तर चाडपर्वका बेला हवाई टिकटको मूल्य बढ्दा त्यो चाहना पूरा गर्न अतिरिक्त खर्च जुटाउनुपर्ने हुन्छ। कतिपयले कम्पनीबाट पाउने टिकट सुविधा प्रयोग गर्छन् भने कतिपयले वर्षभरि गरेको बचत खर्चेर घर फर्कन्छन्।
कामको प्रकृति, बिदाको उपलब्धता र आर्थिक अवस्थाका कारण सबै नेपालीले दसैंमा घर जान पाउँदैनन्। कतिपयले वर्षौंसम्म परिवारसँग चाड मनाउने अवसर पाउँदैनन्।
यूएईबाट नेपाल जाने यात्रुका लागि दुबई, अबुधाबी र शारजाह प्रमुख प्रस्थान स्थल हुन्। दुबईबाट काठमाडौंका लागि फ्लाई दुबई, हिमालय एयरलाइन्स र नेपाल वायुसेवा निगमले सीधा उडान सञ्चालन गर्छन्। शारजाह र अबुधाबीबाट एयर अरेबियालगायतका विमान कम्पनीले नेपालका लागि उडान सञ्चालन गर्छन्।
खाडी मुलुकबाट नेपाल आउने र नेपालबाट खाडी जाने दुवैतर्फ यात्रुको चाप बढ्दा हवाई भाडाप्रति चासो पनि बढेको छ। यात्रुहरूले सस्तो टिकटको उपलब्धता, मूल्य निर्धारणको पारदर्शिता र चाडपर्वका बेला हुने मूल्यवृद्धिबारे प्रश्न उठाए पनि सरकारले विदेशी एयरलाइन्सको अनुगमन गर्न असम्भव जस्तै छ। हवाई टिकटको मूल्य माग, उपलब्ध सिट, यात्रा मिति र टिकटको श्रेणीअनुसार बजारले फरक पर्न सक्छ। त्यसैले सामान्य अवस्थामा पाइने भाडा र चाडपर्वको समयमा तिर्नुपर्ने रकमबीच ठूलो अन्तर देखिन्छ।
इजरायलमा घर फर्कने योजनामै अन्योल
खाडी क्षेत्रमा कार्यरत नेपालीका लागि महँगो टिकट मुख्य समस्या बनेका बेला इजरायलमा रहेका नेपालीका लागि भने सुरक्षा अवस्था र हवाई उडानको अनिश्चितताले थप चुनौती सिर्जना गरेको छ। तेल अभिभमा केयरगिभरका रूपमा कार्यरत टीका रेग्मीले नेपाल जाने योजनासहित फ्लाई दुबईको टिकट लिएकी थिइन्। तर, उडानसम्बन्धी अनिश्चितताका कारण उनी नेपाल जान पाउने वा नपाउने भन्ने अन्योलमा छिन्। गत ३० सेप्टेम्बरमा भएको असफल अपहरण प्रयासपश्चात् फ्लाई दुबईले सबै सेवाहरू बन्द गरेको छ।
फ्लाई दुबईका उडानमा अवरोध आएको र सुरक्षा अवस्थाका कारण यात्रा प्रभावित हुन सक्ने चिन्ताले उनीजस्ता यात्रुलाई समस्या परेको छ। टिकट लिइसकेपछि उडान रद्द भएमा वा यात्रा मार्ग परिवर्तन गर्नुपरेमा थप खर्च र व्यवस्थापनको झन्झटसमेत बेहोर्नुपर्ने हुन्छ।
तेल अभिभमा कार्यरत अभिषेक पराजुलीका अनुसार दसैंका अवसरमा वार्षिक बिदा मिलाएर नेपाल जान चाहने सयौं नेपाली वैकल्पिक मार्ग खोज्न बाध्य भएका छन्। उनी स्वयं इथियोपियन एयरलाइन्समार्फत ट्रान्जिट हुँदै नेपाल जाने योजनामा छन्।
इजरायलमा कार्यरत नेपालीको संख्या करिब सात हजार रहेको बताइन्छ। दसैं र तिहार नेपालीका लागि घरपरिवारसँग पुनर्मिलन हुने महत्वपूर्ण अवसर हुन्। तर विदेशमा पसिना बगाएर परिवार पालिरहेका श्रमिकका लागि घर फर्कने निर्णय भावनासँगै खर्च र परिस्थितिसँग पनि जोडिएको छ।
सस्तो टिकट सकिएपछि महँगो भाडा तिर्नुपर्ने बाध्यता र उडानको अनिश्चितताले उनीहरूको चाडपर्वको योजना प्रभावित बनाएको छ।