: चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि ४१८ सिट वृद्धि गरेको छ। प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहको अध्यक्षतामा शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको बैठकले चिकित्सा शिक्षामा ४१८ वटा नयाँ सिट थप गर्ने निर्णय भएको हो।
यसवर्ष निजी कलेजहरूको सिट संख्या यथावत् राखि सबै थप सिट सरकारी शिक्षण संस्थालाई दिएको शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए। ‘हाम्रो देशमै गुणस्तरीय चिकित्सा शिक्षाको पहुँच बढाउन र हाम्रा होनहार विद्यार्थीहरूलाई आफ्नै देशमा डाक्टर-नर्स बन्ने वातावरण बनाउन हामी निरन्तर क्रियाशील छौँ। यसै क्रममा चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षामा ४१८ वटा नयाँ सिट थप भएको खुसीको खबर यहाँहरूसँग साट्न चाहन्छु।’ उनले भने,‘यसपाली हामीले निजी कलेजहरूको सिट संख्या यथावत राखि सबै थप सिट सरकारी शिक्षण संस्थालाई दिएका छौँ। यसको उद्देश्य निजी क्षेत्रलाई निरुत्साहित गर्नु नभई जेहेन्दार विद्यार्थीहरूले कम शुल्कमा सरकारी शिक्षण संस्थामै अध्ययन गर्ने अवसर पाऊन् भन्ने हो।’
सुदूरपश्चिमको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अब ५० सिटसहित एमबीबीएस पठनपाठन सुरु हुने पोखरेलले बताए।
धरानस्थित बीपी कोइराला र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०–३० गरी एमबीबीएसतर्फ ११० सिट, बि.एससी. नर्सिङमा २१० सिट र बि.एम.एस.मा ९८ सिट थप गरेको शिक्षा तथा खेदकुदमन्त्री पोखरेलले बताए। उनले भने, ‘हाम्रा विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणको सपना साकार पार्ने यो प्रयासमा तपाईंहरू सबैको निरन्तर साथ र विश्वासको अपेक्षा गर्दछु।’