मुख्य समाचार
सरकारले सात दशक पुरानो प्रहरी ऐनलाई विस्थापन गरी नयाँ प्रहरी विधेयक ल्याउने तयारी
सरकारले सात दशक पुरानो प्रहरी ऐनलाई विस्थापन गरी नयाँ प्रहरी विधेयक ल्याउने तयारी

। सरकारले सात दशक पुरानो प्रहरी ऐनलाई विस्थापन गरी नयाँ प्रहरी विधेयक ल्याउने तयारी गरेको छ । गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई व्यावसायिक र आधुनिक बनाउन कानुनी तथा संरचनागत सुधार अघि बढाइएको बताएका छन् ।

७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै गुरुङले प्रहरीको सरुवा–बढुवालाई प्रणालीगत बनाउने, सेवा अवधिसम्बन्धी व्यवस्थामा समयानुकूल परिमार्जन गर्ने र हाकिमलाई रिझाएर अवसर लिने प्रवृत्ति अन्त्य गर्ने बताए ।

‘नेपाल प्रहरीलाई आधुनिक, सक्षम र व्यावसायिक बनाउन नयाँ प्रहरी विधेयक, सेवा सुविधामा सुधार, निष्पक्ष सरुवा–बढुवा तथा प्रविधिमा लगानीलाई सरकारले प्राथमिकता दिएको छ,’ उनले भने ।

गृहमन्त्री गुरुङले संगठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत प्रहरीमा आवश्यक दरबन्दी थप गर्ने प्रस्ताव अघि बढाइएको जानकारी दिए । अपराध अनुसन्धानलाई वैज्ञानिक बनाउन कृत्रिम बौद्धिकता (एआई), डिजिटल फरेन्सिक, साइबर अनुसन्धान र डीएनए प्रोफाइलिङजस्ता प्रविधिमा लगानी बढाउने सरकारको प्राथमिकता रहेको उनले बताए ।



बदलिँदो सुरक्षा चुनौती सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य पनि आवश्यक रहेको गुरुङको भनाइ थियो । हालै नयाँ दिल्लीमा सम्पन्न बिम्स्टेक सदस्य राष्ट्रका गृहमन्त्रीस्तरीय बैठक र भारतीय समकक्षीसँगको वार्तालाई उल्लेख गर्दै उनले सीमापार तथा अन्तरदेशीय अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान र प्रविधिगत सहकार्यलाई तीव्र बनाइएको बताए ।

‘अन्तरदेशीय अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान, प्रविधिको प्रयोग र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रभावकारी बनाउन आवश्यक छ,’ उनले भने ।

गुरुङले प्रहरी कर्मचारीलाई नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई प्राथमिकता दिन आग्रह गरे । भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शून्य सहनशीलता अपनाउनुपर्ने उनको भनाइ थियो ।

‘प्रहरीको बर्दी डरको होइन, आशा, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ । सही कार्य गर्ने प्रहरीको साथमा सरकार सधैँ रहनेछ, तर गलत कार्यको संरक्षण गरिने छैन,’ उनले भने ।

गृहमन्त्रीले प्रहरी कर्मचारीको आवास, स्वास्थ्य तथा जोखिम भत्ताको दायरा विस्तार गरिँदै लगिएको पनि बताए । भदौमा आएको बाढीपहिरो तथा प्राकृतिक विपद्का बेला अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीलाई खाजा तथा जोखिम भत्ता उपलब्ध गराइएको उनले जानकारी दिए ।

अवकाशप्राप्त प्रहरी कर्मचारीको ज्ञान, सीप र अनुभवलाई राष्ट्रहितमा उपयोग गर्ने नीति ल्याउने तयारीसमेत रहेको गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत सिति अर्निफरिजा बिन्ती हाजी मोहम्मद जैनीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले राजदूत जैनीलाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भेटवार्तामा नेपाल र ब्रुनाई दरुसलामबीच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धि ...
। मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । बैठकले नेपाल विशेष सेवा (एक्काइसौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने, बुढीगण्डकी विकास प्राधिकरण विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेका छन् । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू– १. नेपाल विशेष सेवा ...
। मलेसियामा नेपाली श्रमिक पठाउनका लागि मुख्य एजेन्सीका रूपमा सूचीकृत भएका २५ म्यानपावर कम्पनीमाथि वैदेशिक रोजगार विभागले अनुसन्धान अधिकृत तोकेर विस्तृत छानबिन थालेको छ । मलेसियाले विदेशी श्रमिक भर्नाका लागि लागु गरेको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) अन्तर्गत नेपालका २५ म्यानपावर कम्पनीलाई मुख्य (प्रिन्सिपल) र २५० वटालाई सहायक (एसोसिएट) एजेन्सीका रूपमा सूचीकृत गरेको छ । ...
। सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले सांसद खगेन्द्र सुनारको विवादास्पद अडियो प्रकरणमा सरकारले आवश्यक परेको बेलामा अनुसन्धान गर्ने सक्ने बताएका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा शुक्रबार सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा उनले यस्तो धारणा राखेका हुन् । ‘सरकारले कुनै पनि मुद्दालाई दबाउन खोज्ने कुरा हुँदैन। आवश्यक पर्दाखेरि अनुसन्धान गरेर विधिसम्मत रूपमा कसरी अगाडि बढाउनुपर्छ, त्यसअनुसार प्रक्रिया ...
। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना सुरु भएको थियो । गणना सुरु भएको सात दिनमा २३१ जना निर्वाचित भएको परिणाम सार्वजनिक भएको हो । संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुनेछ । जसमध्ये २३१ जना निर्वाचित हुने र बाँकी ६६ जनालाई सभापतिले ...