मुख्य समाचार
जंगली हात्ती रोनाल्डोको मृत्युबारे अध्ययन गर्न गठित अध्ययन समितिले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका जीर्ण र जोखिमयुक्त विद्युतीय संरचना हटाउन सुझाव
जंगली हात्ती रोनाल्डोको मृत्युबारे अध्ययन गर्न गठित अध्ययन समितिले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका जीर्ण र जोखिमयुक्त विद्युतीय संरचना हटाउन सुझाव

। चितवन राष्ट्रिय निकुञ्ज भित्रको भाले जंगली हात्ती रोनाल्डोको मृत्युबारे अध्ययन गर्न गठित अध्ययन समितिले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका जीर्ण र जोखिमयुक्त विद्युतीय संरचना हटाउन सुझाव दिएको छ ।

यही ३ असोजमा बरण्डाभार क्षेत्रको बीसहजारी ताल नजिकै रहेको नेपाली सेनाको पोस्टमा लत्रिएको विद्युतीय तार चपाउँदा ४५ वर्षको चर्चित हात्ती रोनाल्डोको मृत्यु भएको थियो ।

रोनाल्डोको मृत्यु भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्जमा भएका अन्य पनि जोखिमपूर्ण संरचनाबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न ५ असोजमा समिति गठन गरेको थियो ।

विभागका वरिष्ठ अनुसन्धान अधिकृत डा. गणेश पन्तको नेतृत्वमा गठन गरिएको समितिले बुझाएको प्रतिवेदनमा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सुविधा लागि लगिएका यस्ता विद्युतीय संरचनाहरू जीर्ण र जोखिमयुक्त रहेकोले तत्काल सुधार गर्न सुझाव दिइएको छ ।

समितिले निकुञ्जभित्र रहेका नेपाली सेनासहितका ५८ वटा पोस्टहरूमध्ये ३९ वटामा केबल तारमार्फत विद्युत सप्लाई गरिएको र बाँकीमा सोलार लगायतका वैकल्पिक स्रोतबाट वत्ती बाल्ने जस्ता काम गरिएको जनाउँदै कतिपय पोस्टमा लगिएका विद्युतीय तारहरू जनावरका लागि जोखिमयुक्त र जीर्ण रहेको जनाएको छ ।

समितिले २ किलोमिटरभन्दा लामो दूरीमा विद्युतीय तारहरूमार्फत विद्युत आपूर्ति नगर्न पनि सुझाव दिएको छ । यदि सोभन्दा बढी दूरीमा लैजानुपरे भूमिगत तारमार्फत लैजान वा सोलार लगायतका वैकल्पिक स्रोतहरूबाट विद्युतीय सेवा लिन सुझाइएको छ ।

विद्युतीय तारहरू लैजाँदा जंगली जनावरहरूको पहुँचले भेट्न नसक्ने गरी, जंगली जनावरले मन पराउने रुख बिरुवाहरूमा अड्काएर नलैजान र वर्षेनी विद्युत प्राधिकरणसँग समन्वय गरेर त्यसको अनुगमन गर्नुपर्ने र रिपोर्ट तयार गर्नुपर्ने सुझाव दिइएको छ ।

जीर्ण तारहरूको तुरुन्तै अपडेट गर्न सके आउने दिनमा यस्ता क्षति कम हुने सुझाव समितिको छ । रोनाल्डोको मृत्युको घटनाले वन्यजन्तु संरक्षण क्षेत्रमा पूर्वाधार निर्माण र सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको विषयलाई पुन: उजागर गरेको थियो ।

संयोजक पन्तका अनुसार निकुञ्जमा रोनाल्डोको मृत्युको कारण खोज्ने मात्रै नभई निकुञ्जमा बिजुली, पुराना भौतिक संरचना लगायतका कारणले कहाँकहाँ वन्यजन्तु जोखिममा छन् भन्ने अध्ययन गरिएको हो । रुख वा घाँस तान्ने क्रममा विद्युतको तार भुइँमा खसेपछि हात्तीले उक्त तार मुखमा हालेर चपाउँदा रोनाल्डोलाई करेन्ट लागेको बताइएको छ । तर समितिले रोनाल्डोको मृत्यु लापरबाहीभन्दा पनि दुर्घटना भएको जनाएको छ ।

‘सो क्षत्रेमा लगेको विद्युतीय तार कमजोर थिएन, उचाइमा पनि थियो । हात्तीलाई मनपर्ने घाँसपात लहरा पनि त्यो ठाउँमा देखिएन,’ संयोजक डा. पन्तले भने, ‘तर घटना भइसके पनि सावधानी अपनाउनुपर्ने चाहिँ देखियो ।’

विद्युतीय तारहरू निकुञ्ज वा मध्यवर्ती क्षेत्रमा लैजादा कसरी लैजाने, कुन मापदण्ड अपनाउने भन्नुे कुरा ठ्याक्कै नभएकोले यसबारेमा विद्युत प्राधिकरणसँगसमेत आवश्यक परामर्श आवश्यक पर्ने देखिएको उनले बताए ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा मात्रै नभई घना जंगल भएर गएका राष्ट्रिय राजमार्गहरूमा बनेका विद्युतका संरचनाहरू जनावरका लागि कति जोखिम छन् र ती जोखिम घटाउन, हटाउन के गर्ने भन्नेबारेमा गम्भीर समीक्षा र छलफल आवश्यक भएको डा. पन्तले बताए । मानवीय क्रियाकलापका कारणले दुर्लभ वन्यजन्तुहरू मारिनु दु:खद भएकोले आगामी दिनमा यस्ता घटना हुन नदिन ठोस कार्ययोजना ल्याउनुपर्ने डा. पन्तले बताए ।

समितिले वन्यजन्तुको आवतजावत हुने क्षेत्रमा विद्युतीय तार तथा अन्य संरचनाबाट उत्पन्न हुनसक्ने जोखिम पहिचान गरी यस्ता दुर्घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायबारे सुझाव दिएको छ ।

हात्ती प्रजनन केन्द्र खोरसोरमा विगत १२ वर्षभन्दा बढी समयदेखि एकछत्र राज गरेको रोनाल्डोको मृत्युले चितवनको वन्यजन्तु संरक्षण क्षेत्रमा गम्भीर क्षति पुगेको संरक्षणकर्मीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको पर्सा गाउँपालिका–२ स्थित बाँके पुलमा बिहीबार दिउँसो कार दुर्घटना हुँदा महोत्तरीको गौशाला नगरपालिका–५ का २४ वर्षीय चालक विकल साहको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्रनाथ पौडेलका अनुसार, महोत्तरीबाट सदरमुकाम मलंगवातर्फ आउँदै ...
। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भारतसँगको व्यापार घाटा घटाउन, लगानीका अवरोध हटाउन र द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्न दुवै देशले संयुक्त पहल गर्नुपर्ने बताएका छन् । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) को ३२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै श्रेष्ठले नेपाली उत्पादनको भारतीय बजारमा पहुँच सहज बनाउन, भन्सार प्रक्रिया सरल बनाउन र सीमावर्ती पूर्वाधार सुधार ...
। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता तथा मृत्युवरण गरेका कर्मचारीका परिवारलाई रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिपरिवार ५ लाख रुपैयाँका दरले राहत उपलब्ध गराएको छ । कम्पनीले २०८३ भदौ १० गते आएको बाढीका कारण प्रभावित भएका कर्मचारीका परिवारलाई तत्काल आर्थिक सहयोग उपलब्ध गराउने निर्णयअनुसार हालसम्म ५३ जना कर्मचारीका परिवारलाई राहत रकम उपलब्ध गराएको जनाएको छ । कम्पनीका ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नियमित प्रशासनिक कामबाट आफू अलग रहेर देशभरका नेता, कार्यकर्ता र नागरिकसँग संवाद गर्ने योजना अघि सारेका छन् । पार्टीका दैनिक काम वरिष्ठ उपसभापति र महामन्त्रीहरूले हेर्ने गरी आफू समसामयिक मुद्दा र नागरिकका समस्या बुझ्न देशभर घुम्ने उनले बताएका हुन् । शुक्रबार काठमाडौंमा नेपाल पेशाकर्मी अभियान परिषद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै ...
। सरकारले पहिलो पटक निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा सहभागी हुन सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार निजी कम्पनीलाई आशयपत्र जारी गर्ने निर्णय गरेसँगै विद्युत् उत्पादनमा सीमित निजी क्षेत्रलाई अब बजार खोज्ने र विद्युत् व्यापारको तयारी गर्ने बाटो खुलेको हो । मन्त्रीस्तरीय निर्णय अनुसार आशयपत्र प्राप्त गर्ने कम्पनीले ...