। अमेरिकाको उत्तरपश्चिमी राज्य ओरेगनस्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित कम्तीमा चार जनाको मृत्यु भएको छ ।
सीबीएस र सीएनएनका अनुसार बिहीबार बेन्ड सहरस्थित सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चलेको हो । उक्त सहर पोर्टल्यान्डबाट करिब १६० किलोमिटर दक्षिणपूर्वमा पर्छ ।
घटनामा गोली चलाउने व्यक्ति पनि मारिएको अधिकारीहरूले बताएका छन् । तर मृत्यु हुने चार जनाको प्रारम्भिक संख्यामा गोली चलाउने व्यक्ति समावेश भए–नभएको स्पष्ट भइसकेको छैन ।
बेन्ड प्रहरी विभागकी सञ्चार व्यवस्थापक शीला मिलरका अनुसार स्थानीय समयअनुसार बिहीबार दिउँसो १२:५९ बजे विद्यालयबाहिर रहेको एउटा कारमा गोली प्रहार भएको सूचना प्रहरीलाई प्राप्त भएको थियो । त्यसको केही मिनेटमै प्रहरी घटनास्थल पुगेको थियो ।
गोली चलाएको आरोप लागेका व्यक्ति त्यसको केही समयपछि मारिएका थिए । उनलाई प्रहरीले गोली हानेको हो वा घटनास्थलमा रहेका अन्य कुनै व्यक्तिले नियन्त्रणमा लिएका हुन् भन्नेबारे आफूलाई जानकारी नभएको मिलरले बताइन् ।
‘हामी अहिले विद्यालयका कोठा–कोठामा पुगेर त्यहाँ रहेका सबैलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रक्रियामा छौँ,’ मिलरले भनिन्, ‘बेन्डमा हामीले यस्तो घटना कहिल्यै देख्न नपरोस् भन्ने चाहन्छौँ । यो अत्यन्तै दु:खद घटना हो ।’
घटनामा कति जना घाइते भए र उनीहरूको अवस्था कस्तो छ भन्नेबारे तत्काल जानकारी सार्वजनिक भएको छैन ।
अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) का निर्देशक काश पटेलले सामाजिक सञ्जालमार्फत घटनास्थलमा अनुसन्धानका लागि स्थानीय प्रहरीलाई सहयोग गरिरहेको जानकारी दिएका छन् । आवश्यक पर्ने सबै स्रोतसाधन उपलब्ध गराउने उनले बताएका छन्
ओरेगनकी गभर्नर टीना कोटेकले पनि घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको बताएकी छन् ।
अमेरिकी सिनेटमा ओरेगनको प्रतिनिधित्व गर्ने जेफ मर्कलीले घटनाप्रति दु:ख व्यक्त गर्दै प्रभावित विद्यार्थी र परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
‘बेन्ड समुदाय र यस घटनाबाट प्रभावित सबै विद्यार्थी तथा परिवारप्रति मेरो सहानुभूति छ । कसैले पनि विद्यालयमा हिंसाको डर बोकेर बस्नुपर्ने अवस्था हुनु हुँदैन,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।